यातायात व्यवस्था विभागले कार्यालय अवधिमा चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ।
यसअघि विभागले लाइसेन्सको अनलाइन आवेदन फारम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भर्न नपाइने व्यवस्था गरेको थियो।
कार्यालय अवधिमा आवेदन दिनेहरूको संख्या अत्याधिक हुँदा सिस्टम ‘स्लो’ भएर यातायात कार्याल्यमा सेवा दिन समस्या परेको भन्दै विभागले एक सूचना जारी गरी कार्यालय समयमा अनलाइन आवेदन दिन नपाइने व्यवस्था गरेको थियो।
त्यसयता बिहान र बेलुकाको समयमा मात्रै आवेदन दिन पाइन्थ्यो। केही समय अगाडिदेखि विभागले २४ सै घण्टा आवेदन दिनसक्ने व्यवस्था गरिसकेको विभागले जनाएको छ।
तर अत्याधिक चाप बढ्छ भनेर सूचना नै नदिई ‘सुटुक्क’ सेवा सुरू गरिएको विभागका एक अधिकारीले बताए।
'सूचना दिए थेगिनसक्नु हुन्छ। त्यसैले हामीले सूचना निकालेनौं। अब जुनसुकै समयमा आवेदन दिन सकिन्छ,' ती अधिकारीले भने। विभागका अनुसार हाल ८ लाखभन्दा बढी लाइसेन्सका लागि आवेदन दिएर परीक्षाको पर्खाइमा छन्।