ट्राफिक प्रहरीले मोबाइल एपमार्फत तत्कालै (अन द स्पट) नक्कली लाइसेन्स चेकजाँच गर्ने व्यवस्था सुरू गरेको छ।
सोमबार आयोजित एक कार्यक्रमबीच यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाइल एपको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको हो।
यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीलाई लाइसेन्स भेरिफिकेसन मोबाइल एप हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा बोल्दै महानिर्देशक घिमिरेले एक वर्ष परीक्षणकालीन अवस्थामा रहेका लाइसेन्समा रहेको विशेष क्युआर कोडलाई ट्राफिक प्रहरीले मोबाइल एपमार्फत स्क्यान गरि सजिलै नक्कली/सक्कली छुट्याउन सक्ने बताए।
उनले परीक्षणकाल अवधिमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लघन गरेको रेकर्ड देखिएमा उक्त लाइसेन्स खारेज गर्न सक्ने प्रावधान रहेको समेत जानकारी दिए।
महाशाखा प्रमुख एसएसपी जोशीले यस अघि लाइसेन्स प्रमाणीकरणको लागि कुनै पनि प्रविधि नभएका कारण शंकास्पद लाइसेन्स चेक-जाँचको लागि यातायात कार्यालयहरूमा सम्पर्क गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकोमा अब आवश्यकता अनुसार ट्राफिक प्रहरीले अन द स्पट मोबाइल एपमार्फत लाइसेन्स प्रमाणीकरण गर्न सक्ने बताए।
नक्कली लाइसेन्सधारीले सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले विकसित प्रविधिको प्रयोग गरी चेकजाँच प्रणाली प्रभावकारी हुने उल्लेख गरे।
कसैले नक्कली लाइसेन्स साथमा राखी सवारी चलाए त्यस्ता व्यक्तिहरू कानुनी दायराबाट उम्कन नसक्ने उनले बताए। नक्कली लाइसेन्स प्रयोगसमेत नियन्त्रण हुने विश्वास व्यक्त्त गरे।