सुजुकीले नेपाली बजारमा नयाँ सेलेरियो सार्वजनिक गरेको छ। नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन, सिजी मोटोकर्पले सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार 'सुजुकी सेलेरियो' सार्वजनिक गरेको हो।
सर्वाधिक माइलेज दिने यो गाडीले बढ्दो पेट्रोलियम पदार्थको मूल्य वृद्धि भारबाट ग्राहकहरूलाई केहि राहत प्रदान गर्नेमा कम्पनीले विश्वास राखेको छ। नयाँ सेलेरियो अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक डिजाइन, फर्स्ट-इन-सेगमेन्ट सुरक्षा र सुविधायुक्त विशेषताहरूले भरिपूर्ण छ।
नयाँ सेलेरियोको थ्रीडी अर्गानिक स्कल्प्ड डिजाइनले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ। यसको अगाडि भागमा एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले गाडीलाई निकै स्टाइलिस देखाएको छ। यसमा १५ इन्चको अलोय ह्विल छ।
गाडीमा फराकिलो क्याबिन पाउन सकिन्छ भने भित्री डिजाइन प्रिमियम छ। यसमा ७ इन्चको स्मार्टप्ले स्टुडियो इन्फोटेनमेन्ट प्रविधि दिइएको छ। यसका अतिरिक्त, फर्स्ट इन सेगमेन्ट इन्जिन पुस स्टार्ट, पोलेन टाइप एसी फिल्टर जस्ता नयाँ सुविधाहरू पनि दिइएको छ।
पावर र माइलेजको उत्तम समिश्रण भएको नयाँ जेनेरेशन सेलेरियोमा डुअल जेट, डुअल भिभिटीयुक्त के संस्करण इन्जिन जडित छ, जसले सर्वाधिक २६.६८ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ। अत्याधुनिक प्रविधिद्वारा संचालित नयाँ सेलेरियोले ३,५०० आरपिएममा ८९ एनएम टर्क र ५,५०० आरपिएममा ६७ पिएस पावर प्रदान गर्छ।
सुरक्षाको लागि कम्पनीले नयाँ सेलेरियोमा विशेष जोड दिएको छ। यसमा १२ वटाभन्दा बढी सुरक्षा विशेषताहरू समावेश गरिएको छ।
नेपाली बजारमा नयाँ सेलेरियो भिएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लस गरी तीन भेरियन्टमा उपलब्ध छ। सेलेरियो भिएक्सआईको मूल्य २७ लाख ९९ हजार, सेलेरियो जेडएक्सआईको मूल्य २९ लाख ९९ हजार र सेलेरियो जेडएक्सआई प्लसको मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
सेल्स एन्ड मार्केटिङका महाप्रबन्धक सिराज पन्तका अनुसार सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक गाडी हो। नयाँ जेनेरेसनको सेलेरियोमा अझै धेरै माइलेज, बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर छ। साथै, यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्त्साहित गर्नेमा उनी सकारात्मक छन्।