भारतमा सुजुकीको नयाँ बलेनो सार्वजनिक हुँदैछ। कम्पनीले भोलि भारतीय बजारको लागि बलेनो प्रिमियम ह्यचब्याग २०२२ सार्वजनिक गर्ने भएको हो।
नयाँ बलेनोले बजारमा उपलब्ध टाटा अल्ट्रोज, हुन्डाई आई-२० र होन्डा ज्याजसँग प्रतिस्पर्धा गर्ने भारतीय अखबार अटो हिन्दुस्तानले जनाएको छ। अटो हिन्दुस्तानका अनुसार सुजुकीले नयाँ बलेनेको बाहिरी र भित्री आवरणसँगै यसको विशेषताहरूमा परिमार्जन गरेको छ।
नयाँ बलेनोको अगाडि भागमा पहिलेको तुलनामा फराकिलो ग्रिल र नयाँ सेटको डिआरएल हेडलाइट राखिएको छ। यसको टेललाइट पनि एलइडी छ। बलेनोमा १० इन्चको अलोय ह्विल दिइएको छ।
कम्पनीले नयाँ बलेनोको आन्तरिक डिजाइनमा पनि परिवर्तन गरेको छ। यसमा ९ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, नयाँ डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र नयाँ स्टेरिङ ह्विल छ। गाडीमा डुअल टोन ड्यासबोर्ड दिइएको छ।
नयाँ बलेनोमा ३६० भ्यू क्यामेरा, हेड अप डिस्प्ले स्क्रिन, ४० भन्द बढी कनेक्टिभिटी फिचर भएको सुजुकी कनेक्ट एप लगायत विशेषताहरू समावेश गरिएको छ।
कम्पनीले नयाँ बलेनो २०२२ बारे सम्पूर्ण जानकारी हालसम्म सार्वजनिक गरेको छैन। तर यसको सुरुवाती मूल्य भारु ६ लाख ५० हजार हुने बताइएको छ।
त्यस्तै, यसको टप भेरियन्टको मूल्य भारु १० लाखभन्दा कम हुने अनुमान छ। हाल भारतीय बजारमा उपलब्ध बलेनोको विभिन्न मोडलको मूल्य भारु ७ लाखदेखि १० लाख ८६ हजार तोकिएको छ।