नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले पोखरामा नयाँ विश्वस्तरीय सोरुम सञ्चालनमा ल्याएको छ। प्रिमियम अटो ग्रुपद्वारा सञ्चालित दुई हजार स्क्वायर फिटमा फैलिएको जिपको रिटेल आउटलेटले ग्राहकलाई ‘प्रिमियम एक्सपिरियन्स’ दिने कम्पनीको विश्वास छ।
गण्डकी प्रदेशको पहिलो जिप सोरुमको उद्घाटन गर्दै नेपाली कंग्रेसका नेता प्रदिप पौडेलले स्वतन्त्रतासँग जोडिएको विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड पोखरामा आउनु उल्लेखनीय कुरा भएको बताए। त्यसैगरी, नाडाका अध्यक्ष ध्रुव थापाले जिप पोखराका सडकमा पनि देखिन थालेको र यसको भविष्य राम्रो भएको उल्लेख गर्दै प्रिमियम अटो ग्रुपलाई शुभकामना दिए।
एमएडब्लु लाइफका प्रमुख कार्यकारी अधिकृत अनिश लामिछानेले चार वर्षअघि नेपालमा जिप औपचारिक रुपमा भित्रिएदेखि नै पश्चिम नेपालका ग्राहकले जिप सोरुमको अपेक्षा गरिरहेको बताए। र, अहिले उनीहरूको अपेक्षा पूरा गर्न पाउँदा खुशी व्यक्त गरे।
प्रिमियम अटो ग्रुपका संस्थापक सन्तोष बास्तोलाले ग्राहकलाई निकै विश्वास गरेको अटोमोबाइल ब्रान्ड र प्रिमियम कस्टमर एक्सपिरियन्स दिन पाउँदा आफू निकै उत्साहित भएको बताए।
जिप ब्रान्डको बढ्दो लोक प्रियतालाई ध्यानमा राखेर एमएडब्लु लाइफले देशभर बिक्री तथा बिक्री पछिको सेवा सञ्जाल बढाउँदै लग्ने नीति लिएको छ। जिपले यसै आर्थिक वर्षमा चार अन्य स्थानमा सोरुम र सर्भिस आउटलेट सुरू गर्ने कम्पनीको भनाइ छ।
जिपले ‘रोडसाइड असिस्ट्यान्स’सहित चौबिसै घन्टा र ३६५ दिन सेवा दिइरहेको छ। यो वर्ष चुनौतीपूर्ण बजार अवस्थाका बाबजुत जिपले राम्रो बजार विस्तार गरेको छ।
गत असारमा नयाँ जिप कम्पास सार्वजनिक गरेपछि प्रिमियम एसयुभी सेग्मेन्टमा जिप ब्रान्डले उल्लेखनीय प्रदर्शन गर्दै आएको छ र यो गति पूरै वर्ष कायम हुने अपेक्षा गरिएको छ।