जिपले सन् २०२३मा विद्युतीय एसयुभी सार्वजनिक गर्ने भएको छ। कम्पनीले मंगलबार विद्युतीय जिप एसयुभीको फोटो सार्वजनिक गर्दै उक्त घोषणा गरेको अमेरिकी प्रविधि वेबसाइट द भर्जले जनाएको छ।
अन्य अटोमोबाइल कम्पनीको तुलनामा जिपले विद्युतीकरणमा जोड दिन ढिलाई गरेको देखिन्छ। तर सन् २०२३को पहिलो छ महिना भित्रै कम्पनीले पूर्ण विद्युतीय एसयुभी सार्वजनिक गर्ने भएको हो।
कम्पनीले नयाँ विद्युतीय एसयुभीको नाम र विशेषताहरू हालसम्म सार्वजनिक गरेको छैन। जिप निर्माता कम्पनी स्टेलान्टिसका प्रमुख कार्यकारी अधिकृत कार्लोस टभेयर्सका अनुसार यो विद्युतीय एसयुभी चकिलो पहेंलो रंगमा उपलब्ध हुनेछ।
विद्युतीय एसयुभी स्टेलान्टिसको एसटिएलए प्लेटफर्ममा आधारित हुने बताइएको छ। यो पुरै ब्याट्रीबाट चल्ने हुँदा यसले 'जिरो इम्मिसन' मापदण्ड पालन गर्नेछ।
त्यस्तै, जिपले सन् २०२५ सम्ममा आफ्नो सम्पूर्ण उत्पादन जिरो इम्मिसन मापदण्डमा आधारित हुने घोषणा गरेको छ।
जिपले सन् २०३० को अन्तिमसम्ममा आफ्नो लाइनअपमा ७५ ओटा विद्युतीय गाडी सार्वजनिक गरिसक्ने र विश्वभर वार्षिक ५० लाख विद्युतीय गाडी बिक्री गर्ने लक्ष्य राखेको छ।