स्कोडा नेपालले पोखराको नयाँ बजारमा सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएको छ। युरोपियन लिडिङ ब्राण्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले हालै पोखरामा स्कोडा कार र एसयुभीको बिक्री तथा वितरणका लागि एसएसएल मोटर्सलाई डिलर नियुक्त गरेको हो।
एमएडब्लुले सन् २००८ देखि स्कोडा कारलाई नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। कम्फर्ट र सुरक्षाका लागि स्कोडा कार नेपालमा चर्चित छन्।
कम्पनीले देशभर स्कोडा कारको उपलब्धता सहज बनाउन डिलर डेभलपमेन्टलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ। यसैअनुरुप एमएडब्लुले पोखरामा युरोपियन मापदण्डको नयाँ सोरुम स्थापना गरेको हो।
सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथि नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष ध्रुव थापा र स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले सोरुम र वर्कसपको संयुक्त रुपमा उद्घाटन गरे।
कार्यक्रममा बोल्दै कार्यकरी निर्देशक अग्रवालले देशभर डिलर विस्तार गर्ने क्रममा पोखरामा पनि सुविधासम्पन्न सोरुम र वर्कसप स्थापना भएको बताए। ‘हामी निरन्तर आफ्नो डिलर नेटवर्क स्थापना गरी देशभर सहज एवं सुलभ रुपमा आफ्ना ग्राहकलाई युरोपियन कारको सहज पहुँच पुर्याउन प्रतिबद्ध छौं,’ उनले भने।
नेपालमा स्कोडा गाडीप्रति ग्राहकको आकर्षण बढेको बताउँदै अग्रवालले आगामी दिनमा यसको लोकप्रिय अझै बढ्ने विश्वास व्यक्त गरे। ग्राहकमुखी सेवाप्रति प्रतिबद्ध रहँदै कम्पनीले बिक्री पछिको सेवालाई प्राथमिकतामा राखेको जनाएको छ।