नेपाली बजारमा विभिन्न ब्रान्डका कमर्सियल तथा प्यासेन्जर सवारी बिक्री गर्दै आइरहेको एमएडब्लू भृद्धिले ओमेगा सिक्की मोबिलिटी (ओएसएम)का विद्युतीय सवारी नेपाली बजारमा ल्याउने भएको छ। त्यसका लागि ओएसएम र एमएडब्लू भृद्धि कमर्सियल भेहिकलबीच आधिकारिक बिक्रेताको सम्झौता भएको छ।
दुई कम्पनीबीच केही दिनअघि आधिकारिक साझेदारीको सम्झौता भएको हो। एमएडब्लू भृद्धिले अबको केही समयभित्रै ओएसएमका तीन पांग्रे विद्युतीय सवारी ल्याउने बताएको छ।
वातावरण सुरक्षामा आफूहरू प्रतिबद्ध रहेको र वातावारण र नेपाललाई सुहाउदो सवारी भित्र्याउन लागेको कम्पनीले जनाएको छ। पहिलो चरणमा एमएडब्लू भृद्धिले थ्री व्हिलर सवारी भित्राउने योजना बनाएको छ।
ओएसएमले उत्पादन गरेका उच्च प्रविधियुक्त विद्युतीय सवारीले हाल चलिरहेको विद्युतीकरण अभियानमा सहयोग पुग्ने बताए। कम्पनीले कम प्रदूषण गर्ने विद्युतीय सवारीको क्षेत्र विस्तारका लागि निरन्तर काम गर्दै जाने कम्पनीद्वारा विज्ञप्तिमा उल्लेख छ।
ओमेगा सिक्की कस्तो कम्पनी हो?
ओमेगा सिक्की मोबिलिटी (ओएसएम) एन्जेलियन ओमेगा ग्रुप अफ बिजनेसको सदस्य हो, जसले भारत र विदेशमा अटोमोटिभ र इन्जिनियरिङ उद्योगहरूको लागि स्टिल पार्ट्स निर्माणमा केन्द्रित छ। समूहले पछिल्लो ५ वर्षमा अटोमोटिभ, पूर्वाधार र उच्च प्रविधिको डिजाइन र विकासका धेरै परियोजनाहरू यी क्षेत्रमा ठूलो लगानीका साथ विस्तार गरेको छ। विद्युतीय सवारीसाधनको व्यवसाय समूह कम्पनी ओमेगा सेकी प्रालिले आफ्नो इन-हाउस आर एन्ड डी सुविधामा थ्री व्हिलर सवारी साधनहरू आकर्षक डिजाइनमा विकास गरेको छ।