नेपालको लागि रोयल इन्फिल्डको आधिकारीक विक्रेता फेरिएको छ। एमभी दुगर ग्रुप अन्तर्गतको विवेक अटोमोबाइलले बिक्री गर्दै आएको रोयल इन्फिल्डको बिक्री अबबाट त्रिवेणी ग्रुपले गर्ने भएको हो।
योसँगै त्रिवेणी ग्रुप अटोमोबाइल व्यवसायमा प्रवेश गरेको छ। यसभन्दा अघि त्रिवेणी ग्रुपले उत्पादन, कृषि, बैंकिङ, इन्स्योरेन्स, मनोरञ्जन एवम् टुरिजम,ऊर्जा लगायत क्षेत्रमा लागनी गरिरहेको छ।
रोयल इन्फिल्डको बिक्री त्रिवेणी ग्रुपले गर्ने भएसँगै दुगर ग्रुपसँग भने दुई पांग्रेमा अब अप्रिलिया र भेस्पा स्कुटरहरू मात्रै छन्। सन् १९७२ देखि विभिन्न ब्रान्ड बिक्री वितरण गर्दै आएको कम्पनीले महिन्द्राका कमर्सियल भेइकल, अमेरिकन ट्याक्टर ब्रान्ड जोन डियर पियाजीयोको थ्री ह्विलर लगायत एक दर्जन ब्रान्डका उत्पादन पनि बिक्री गर्दैछ।
दुगर ग्रुपले सन् २००१को अन्तिमतिर रोयल इन्फिल्डलाई नेपाली बजारमा भित्र्याएको थियो। कम्पनीले २० वर्षको अवधिमा आफ्नो उपभोक्ताहरूको माग र आवश्यकतालाई ध्यानमा राख्दै बजार विस्तार गरेको छ।
नेपाली बजारमा विशेष युवा पुस्तामाझ लोकप्रिय रोयल इन्फिल्डका बाइकहरूको विभिन्न मोडल उपलब्ध छन्। सर्वाधिक बिक्री हुने 'बुलेट' मध्ये इन्फिल्डको क्लासिक ३५० पनि एक हो। यसबाहेक बजारमा यसको ६ वटाभन्दा बढी मोडलहरू उपलब्ध छन्।
रोयल इन्फिल्डको बिक्री तथा वितरणको जिम्मा त्रिवेणी समूहले लिएसँगै समूहले यसको बजार विस्तारमा ध्यान पुर्याइरहेको छ। कम्पनीका निर्देशक रामचन्द्र संघईका अनुसार त्रिवेणीले छिट्टै नयाँ लटको बाइकको बिक्री एवम् वितरण थाल्नेछ। उनले सम्पूर्ण कागजात र व्यवस्था मिलाउन थप केही समय लाग्ने समेत बताए।
‘वितरणको जिम्मा हामीले पाएसँगै सम्पूर्ण काम अगाडि बढिरहेको छ। अटो क्षेत्रमा हामी नयाँ छौं। तर कामप्रति सकारात्मक छौं,’ उनले सेतोपाटीसँग भने, 'भविष्यमा रोयल इन्फिल्डको डिलर र सोरुमहरू विस्तार गर्दै रोजगारी समेत बढाउने पक्षमा छौं।'
हाल रोयल इन्फिल्डको देशभर १९ वटा आउटलेट छन्। काठमाडौंमा बालाजु, बालकुमारी र नक्सालमा तीन वटा आउटलेट छन् भने उपत्यका बाहिर पोखरा, इटहरी, बुटवल, नारायणगढ, बिराटनगर, नेपालगंज, जनकपुर, दमक लगायत ठाउँमा छन्।