नेपालका लागि एमजी मोटर्सको आधिकारिक बितरक पारामाउन्ट मोटर्सले विद्युतीय जेडएस (जेडएस इभी) समयमै नेपाल भित्र्याउन नसक्ने सम्भावना रहेको बताएको छ।
कम्पनीका अनुसार चीनमा जारी विविध प्रतिबन्धका कारण मार्चदेखि मेसम्मका लागि बुकिङ गरिएको गाडीको समयमै डेलिभरी नहुने सम्भावना उच्च रहेको हो।
ती बुकिङहरू जुनदेखि जुलाईसम्ममा भने डेलिभरी गर्ने पहलमा रहेको कम्पनीका एक अधिकारीले बताए।
कम्पनीले यसै विषयमा गाडीको प्रि-बुकिङ गरेका ग्राहकहरूलाई मेसेज गरेको छ। मेसेजमा लेखिएको छ, 'चीनमा हालको कोबिड अवस्थाका कारण तपाईंले बुक गर्नुभएको एमजी जेडएस इभीको आपूर्तिमा ढिलाइ हुन सक्नेबारे हामी तपाईंलाई सूचित गर्न चाहन्छौं। यस्तो अवस्थामा यदि तपाई आफ्नो बुकिङ रद्द गर्न चाहनुहुन्छ भने बुकिङबापत भुक्तानी रकम फिर्ता लिनको लागि हामीसँग सम्पर्क गर्न अनुरोध गर्छौं। तर यदी तपाईं गाडी नआउन्जेल कुर्न चाहनुहुन्छ भने तपाईंले आफ्नो बुकिङ जारी राख्न सक्नुहुन्छ। कुनै पनि असुविधाको लागि हामी क्षमाप्रार्थी छौं। धन्यवाद।'
यसै विषयमा कतिपय ग्राहकहरूले सन्तुष्टजनक प्रतिक्रिया नदिएको पाइएको छ। तर कम्पनीका अनुसार कम्पनीले ठोस कारण नै खुलाएर माग पूरा गर्न नसक्ने बताएका कारण आन्तरिक कुनै गडबडी नरहेको बताए। पारामाउन्टले गत असोजदेखि जेडएसको बुकिङ पनि बन्द गरेको छ।
मोरिस ग्यारेज, छोटकरीमा 'एमजी' का बिजुली गाडी नेपालमा पाइन थालेको दुई वर्ष मात्र भयो। तर यी दुई वर्षमा सात सयभन्दा बिजुली गाडी बेचिसकेको छ। ९० वर्षभन्दा पुरानो बेलायती ब्रान्ड एमजी अहिले चिनियाँ कम्पनी साइक मोटरको स्वामित्वमा छ। हाल एमजी गाडी चीन, भारत र थाइल्यान्डमा उत्पादन हुन्छन्। यिनै देशबाट संसारभर निर्यात हुँदैछ।