सवारी धनीमध्ये धेरैलाई आफ्नो साधनको टायर कतिबेला फेर्नुपर्छ भन्ने थाहा हुँदैन। टायर समयमै नफेर्दा साधनमा विभिन्न समस्याहरू देखा पर्न सक्छ। कतिबेला हावा गइरहेको हुन्छ वा पंचर हुन्छ भन्ने हेक्का लगाउनै सकिदैँन।
यस्तो समस्याको समाधान गर्न टायर निर्माता कम्पनी सिइएटीले आफ्नो नयाँ 'कलर ट्रेड वेयर इन्डिकेटर' टायर सार्वजनिक गरेको छ। कम्पनीले सवारी चालकहरूको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षा सतर्कताको लागि नौलो तरिकाको टायर सार्वजनिक गरेको हो।
नयाँ टायर पुरै कालो रंगको मात्र नभई यसको मध्य भागतिर पहेंलो रंग छ। यो टायरको प्रयोगपछि नयाँ टायर कहिले फेर्नुपर्ने भन्ने पत्ता लगाउन सहज हुन्छ। अर्थात्, यसले टायर परिवर्तन गर्ने समय हुँदा सवारी धनीलाई सचेत गराएर उपभोक्ता सुरक्षा सुधार गर्न मद्दत गर्छ।
यो टायरको ट्रेड भाग भित्र पहेंलो स्ट्रिप (एम्बेडेड गरिएको) राखिएको हुन्छ। जुन नयाँ हुँदा देखिँदैन। तर सवारी चलाउँदै गर्दा जतिजति टायर घिसिन्छ, उत्तिकै बिस्तारै टायर भित्र राखिएको पहेंलो भाग देखिन थाल्छ। यसरी सवारी धनीले कुन समय आफ्नो सवारी साधनको टायर फेर्नुपर्ने हो पत्ता लगाउन सक्छन्।
समयमै टायर फेर्दा टायर ग्रिप नभएर हुने सम्भावित दुर्घटनाहरू रोक्न सकिन्छ।
भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार सिइएटीले 'कलर ट्रेड वेयर इन्डिकेटर' टायर दुई साइजमा सार्वजनिक गरेको छ। कम्पनीले टोयोटा इनोभाको लागि १५ इन्च र इनोभा क्रिस्टलको लागि १६ इन्चको टायर सार्वजनिक गरेको हो।
कलर ट्रेड वेयर इन्डिकेटर टायरबारे कम्पनीका प्रमुख मार्केटिङ अफिसर अंकुर कुमारले सिइएटीले सधैं आफ्नो ग्राहकहरूको मोबिलिटीलाई सुरक्षित र स्मार्ट बनाउने उद्देश्यले काम गरिरहेको बताए। उनले भविष्यमा थप विभिन्न साइजको यस्तै कलर ट्रेड वेयर इन्डिकेटर टायर सार्वजनिक गर्ने समेत बताए।