नेपाली बजारमा फोर्स गुर्खा सार्वजनिक भएको छ। फोर्स मोटर्स नेपालले गत शुक्रबारदेखि आफ्नो नयाँ गाडी 'फोर्स गुर्खा'को बिक्री-वितरण सुरू गरेको हो।
'नेपालको बाटोहरूलाई अन्त्यन्त उपयुक्त यो गाडीको बिक्री तथा वितरण आजदेखि गर्दैछौं,' आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुव थापाले शुक्रबार आयोजित कार्यक्रममा बोल्दै भने। आयाम इन्टरकन्टिनेन्टल फोर्स मोटर्सको लागि नेपालको आधिकारिक विक्रेता हो।
'ग्राउण्ड-अप मोडुलर आर्टिटेक्चर प्लेटफर्म'मा निर्मित यस गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जी-वागनलाई प्रतिविम्बित गर्छ।
लामो र चौडा बनावट भएको गुर्खाको क्याबिन अत्यन्त फराकिलो र आरामदायी छ। यसमा चारै जना यात्रुको लागि क्याप्टेन सिटलगायत पर्याप्त लेगरुम, हेडरुम, एल्बोरुम एवं ५०० लिटरको बुट स्पेसको व्यवस्था छ।
मर्सिडिज निर्मित २,६०० सिसी इन्जिन जडित गुर्खा आफ्नो श्रेणीमा (सेग्मेन्ट) एक मात्र यस्तो गाडी हो जुन बिना कुनै समस्या तीन अंकको गतिमा राजमार्गमा दौडिन, ३५ डिग्रीको उकालो चढ्न र ७०० मिलिमिटर गहिरो पानीमा पनि सहजै चलाउन सकिन्छ।
त्यस्तै, यसमा रहेको एअर इन्टेक स्नोर्कल र चारैवटा पाङ्ग्रामा भएको लक पनि अन्य भन्दा विशेष प्रकारको छ।
पाँचवटा विभिन्न आकर्षक रंगहरुमा उपलब्ध गुर्खाको वारेन्टी ३ लाख किलोमिटर वा ३ वर्षको छ। साथै ग्राहकहरूले चार पटकसम्म नि: शुल्क सर्भिसिङ सेवा प्राप्त गर्न सक्छन्। दक्ष र अनुभवी जनशक्ति तथा अत्याधुनिक पूर्वाधार सहित गुर्खाको अधिकृत विक्रेताले ग्राहकहरूलाई उच्चभन्दा उच्च सेवा र सुविधा प्रदान गर्ने कम्पनीले विश्वास राखेको छ।