नेपाल विद्युत प्राधिकरणले २० वटा बिजुली गाडी खरिद गरेको छ। पेट्रोलियम पदार्थबाट चल्ने सवारी कम गर्दै विद्युतीय सवारीको प्रयोग बढाउने उदेश्यले टाटाको विद्युतीय नेक्सन खरिद गरिएको प्राधिकरणका प्रवक्ता सुरेशकुमार भट्टराईले बताए।
भट्टराईका अनुसार केन्द्रीय कार्यालय कर्पोरेट कामको लागि बिजुली गाडी खरिद गरिएको हो। प्राधिकरणले छोटो दुरीका लागि विस्तारै अन्य पनि बिजुली गाडी किन्ने योजना बनाएको छ।
बिजुली गाडी खरिद गरेपछि प्राधिकरणका चालकहरूले बिजुली गाडी नचलाउन लबिङ गरेका विषयहरू पनि बाहिरिएका छन्। तर यसमा सत्यता नभएको भट्टराई बताउँछन्।
‘हामीले कसलाई चलाउन दिने भन्ने विषयमा कुरा नै भएको छैन। बाहिर जे कुरा आएको छ त्यसमा सत्यता छैन,’ उनले सेतोपाटीसँग भने।
यी गाडीहरू कहिलेदेखि सञ्चालनमा ल्याउने भन्ने विषयमा टुंगो लागिनसकेको पनि उनले बताए। टाटाले नेपालमा गत साउनमा विद्युतीय नेक्सन सार्वजनिक गरेको हो। यो नेपालमा अत्याधिक बिक्री हुने बिजुली गाडीमध्ये पर्छ। टाटाले विद्युतीय नेक्सनको सुरुवाती मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकेको छ।