सुन्दर यातायातले पेट्रोल र बिजुली दुबैबाट चल्ने स्कुटर सार्वजनिक गरेको छ।
बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै भारतीय तथा चिनियाँ प्राविधिकको सहजीकरणमा सुन्दर अटो इन्जिनियरिङले तयार गरेका स्कुटर सार्वजनिक गरेको हो।
यी स्कुटर ब्याट्री पूरा चार्ज गर्दा एक सय किलोमिटरसम्म गुड्न सक्छन्। ब्याट्रीबाट चलाउन मन नलागेको अवस्थामा अथवा ब्याट्रीको चार्ज सकिएको अवस्थामा पेट्रोलबाट चलाउन सकिन्छ। यसका लागि स्कुटरका बटन राखिएको छ। आवश्यकता अनुसार बटन रोज्न सकिन्छ। कम्पनीले स्कुटरको सुरुवाती मूल्य दुई लाख ३५ हजार रुपैयाँ तोकेको छ।
यसबाहेक कम्पनीले पार्टपुर्जा आयात गरी विद्युतीय मोटरसाइकल तथा अन्य स्कुटरहरु पनि तयार गरिरहेको छ। मोटरसाइकल बजारमा बिक्री गर्ने अनुमति भने पाइसकेको छैन। हालसम्म एक हजार तीन सय ६० स्कुटर बिक्री गरिसकेको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए।
उनले पेट्रोलबाट चल्ने स्कुटरको तुलनामा बिजुलीबाट चल्ने स्कुटर चढ्दा धेरै सहुलियत मिल्ने बताए। ‘एक सय ६० रुपैयाँ रुपैयाँ पर्ने एक लिटर तेलले २५ किलोमिटर गुड्छ। विद्युतीय स्कुटर सोही किलोमिटर गुड्दा सात रुपैयाँ मात्र खर्च हुन्छ,’ अध्यक्ष थापाले भने।