सुन्दर अटो इञ्जिनियरिङले पुराना स्कुटरलाई पेट्रोल र बिजुली दुवैबाट चल्ने 'हाइब्रिड स्कुटर' बनाउन थालेको छ।
लामो प्रयासपछि कम्पनीले पुराना स्कुटरलाई नयाँ स्वरूपमा पेट्रोल र बिजुली दुवैमार्फत चल्ने बनाएको हो।
पुराना स्कुटर किनेर नयाँ पाटपूर्जा जडान गरी हाइब्रिड तयार गर्न थालेको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए।
'हामीले चलाउनै नसक्ने अवस्थामा पुगेको स्कुटर ल्याएर नयाँ स्वरूप दिएका छौं। ब्याट्री र पेट्रोल जुनमा सजिलो र सहुलियत हुन्छ, त्यही प्रयोग गर्न सकिन्छ,' उनले सेतोपाटीसँग भने।
कम्पनीले अहिले होन्डा कम्पनीको एउटा पुरानो स्कुटरबाट हाइब्रिड तयार गरेको छ। यो स्कुटरको ब्याट्री पूरा चार्ज गरेपछि ८० किलोमिटरसम्म गुड्ने दाबी थापाले गरे।
उनका अनुसार ब्याट्री सकिन लागेको वा लामो दुरीको यात्रा तय गर्नुपर्ने अवस्थामा पेट्रोलबाट चलाउन सकिन्छ। यसका लागि स्कुटरमा एउटा स्विच बटन राखिएको छ। बटन थिचेर आवश्यकताअनुसार बिजुली वा पेट्रोल मोडमा लैजान सकिन्छ। ब्याट्री मोडमा चलाउँदा हरियो बत्ती बल्छ भने बिजुलीबाट चलाउँदा रातो बल्छ।
स्कुटरमा ५० भोल्ट ३५०० एमएएचको लिथियम ब्याट्री जडान गरिएको छ। ब्याट्री स्कुटरको डिकीमा राखिएको छ। डिकीमा ब्याट्री राखेपछि त्यहाँ अरू सामग्री भने राख्न मिल्दैन। ब्याट्रीको मूल्य ६५ देखि ७० हजार रूपैयाँसम्म पर्ने कम्पनीका इञ्जिनियर पाण्डव पौडेलले बताए।
'ब्याट्रीको मूल्य त क्षमताअनुसार थपिँदै जान्छ। योभन्दा कम मूल्यको ब्याट्री पनि राख्न सकिन्छ। तर यसो गर्दा स्कुटर पनि कम दूरीसम्म गुड्छ,' उनले भने।
पौडेलका अनुसार यो स्कुटर पेट्रोल वा बिजुली जुन मोडमा चलाए पनि अधिकतम ६० किमि प्रतिघन्टा गुडाउन सकिन्छ। विद्युतीय मोडमा चलाउँदा खर्च कम हुने दाबी कम्पनीको छ। एक लिटर पेट्रोलले स्कुटर २५ किलोमिटरसम्म गुड्छ। यति गुड्दा आजका दिनमा १६० रूपैयाँ खर्च हुन्छ। बिजुली मोडमा त्यति नै किलोमिटर गुडाउँदा सात रूपैयाँ मात्र खर्च हुने कम्पनीको दाबी छ।
यसमा अरूमा जस्तै डिजिटल डिस्प्ले राखिएको छ। स्कुटरमा १० इन्चको (४८ भोल्टेज/१.५ किलोवाट) हब मोटर जडान गरिएको छ। यो निकै आधुनिक रहेको इञ्जिनियर पौडेल बताउँछन्। यसलाई हिलो, धूलो र पानीले केही असर नपुर्याउने उनको भनाइ छ।
त्यस्तै ४८ भोल्टेजको कन्ट्रोलर पनि स्कुटरमा छ। कन्भर्टर पनि ४८ भोल्टेजकै छ। यसको पिकअप निकै राम्रो भएको उनले बताए।
ब्याट्री र मोटरको वारेन्टी तीन वर्ष दिइएको छ। एक वर्षको बीमा सुविधा पनि छ। स्कुटरमा कुनै समस्या आयो भने कम्पनीले घरमै पुगेरसमेत सेवा दिने कम्पनीले जनाएको छ। तर समय-समयमा स्कुटर सर्भिसिङ गरिरहनु नपर्ने कम्पनीले बताएको छ।
दुर्घटना तथा विभिन्न कारणले टुटफुट हुने कतिपय पाटपूर्जाहरूमा कम्पनीले आठ वर्षसम्म वारेन्टी दिने अध्यक्ष थापाले दावी गरे। स्कुटरका पाटपूर्जा आवश्यक पर्दा बुटवलको कालिकानगर, पोखराको अमरसिंह चोक र धुम्बाराहीबाट लिन सकिनेछ। छिट्टै काठमाडौंको नक्साल, चितवन, विराटनगर र ललितपुर लगायत विभिन्न ठाउँबाट पनि लिन सकिने उनले बताए।
'विस्तारै हामी अनलाइनमार्फत नै आवश्यक पाटपूर्जा सम्बन्धित व्यक्तिसम्म पुर्याउने तयारी गरिरहेका छौं,' अध्यक्ष थापाले भने।
ठाउँठाउँमा वर्कसप खोल्ने तयारी पनि कम्पनीको छ। कम्पनीले विस्तारै स्कुटर जहाँ बिग्रिन्छ, त्यहीँ पुगेर सेवा दिने तयारी गरिरहेको छ।
अब बजारको मागका आधारमा कम्पनीले यस्ता अरू स्कुटर तयार गर्ने अध्यक्ष थापा बताउँछन्। कसैलाई आफ्नो पेट्रोलबाट चल्ने स्कुटरलाई बिजुलीबाट चल्ने बनाउन मन लाग्यो भने पनि कम्पनीले बनाइदिन्छ। कम्पनीको इञ्जिनियरिङ टोलीले आठ घन्टामै हाइब्रिड स्कुटर तयार गर्ने थापाले दाबी गरे।
अहिले बनाइएको हाइब्रिड स्कुटरको मूल्य दुई लाख ३५ हजार रूपैयाँ तोकिएको छ। अहिले कम्पनीले नमूनाका रूपमा एउटा मात्र बनाएकाले पनि केही महँगो पर्न गएको बताएको छ।
माग राम्रो भए बाहिरबाट ठूलो परिमाणमा पाटपूर्जा मगाएर हाइब्रिड स्कुटर तयार गर्दा लागत कम लाग्ने र मूल्य पनि घट्ने विश्वास कम्पनीको छ।