उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार राजपत्रमा सूचना प्रकाशित गर्दै असार मसान्तसम्म विभिन्न सामग्रीको आयातमा रोक लगाएको छ। तीमध्ये २५० सिसीभन्दा बढीका मोटरसाइकलको आयातमा पनि रोक लगाइएको छ।
सरकारले आयात कम गरी विदेशी मुद्रा सञ्चिति बढाउन यस्तो निर्णय गरेको हो।
यी बाइक आयात नगर्दा दुई पांग्रेको बजारमा कस्तो प्रभाव पर्छ त?
हामीले यसबारे केही व्यवसायीसँग सोध्यौं। व्यवसायीहरूले सरकारको यो निर्णयले बजारमा खास ठूलो असर नपर्ने बताएका छन्।
नेपालमा आधा दर्जनभन्दा कम कम्पनीहरूले मात्रै २५० सिसीभन्दा बढी क्षमताका मोटरसाइकल बिक्री गर्दैछन्। तीमध्ये बेनेली, रोयल इन्फिल्ड, केटिएम, होन्डा, बजाज प्रमुख हुन्।
बेनेलीले हाल नेपाली बजारमा २५० सिसीभन्दा बढीको चार मोडल बिक्री गरिरहेको छ। कम्पनीले ३०२ एस, टिआरके ५००, टिएनटी ६०० र ७५२ एस बिक्री गर्दैछ।
बेनेली नेपालका एक अधिकारीका अनुसार सरकारको नयाँ निर्णय उपयुक्त नै छैन। उनले सेतोपाटीसँग भने, 'सरकारले विलासी सामग्री सोचेर २५० माथिका बाइकको आयातमा रोक लगाएको हो भने यसले केही फरक पर्दैन। आयातमा रकम धेरै बाहिरिएको र विलासी नै सोचेको भए १५० सिसीभन्दा माथिका बाइकमा रोक लगाउनुपर्ने हो।'
उनका अनुसार २५० सिसीभन्दा माथिका बाइकले नेपाली बजार हिस्सा दुई प्रतिशतभन्दा कम ओगटेको छ। वार्षिक करिब दुई लाख ८० हजार वटा बाइक बिक्दा २५० सिसी बढीको जम्मा ६ देखि ७ हजार वटा मात्रै बिक्री हुने गरेको छ।
त्यस्तै, युवा पुस्तामाझ लोकप्रिय केटिएमले ३९० सिसीको तीनवटा मोडलको बाइक बिक्री गर्दैछ। नेपालका लागि केटिएमको एक मात्र आधिकारिक विक्रेता हंसराज हुलासचन्द प्रालिले आरसी ३९०, ड्युक ३९० र एड्भेन्चर ३९० बिक्री गर्दैछ।
केटिएमका सहायक महाप्रबन्धक विजय मोक्तानका अनुसार सरकारले बाइकलाई विलासीको नजरमा हेर्न उपयुक्त छैन। उनले २५० सिसी बढीको बाइक भन्दैमा महँगो नहुने तर्क गरे।
'बाइकको मूल्य त्यसको डिस्प्लेसमेन्टमा निर्धारण हुने होइन। कतिपय १५० सिसीकै बाइक पनि ५-६ लाख पर्छ। कतिपय ३०० सिसीको ३-४ लाखमै पाइन्छ। बाइक अहिलेको आवश्यकता हो। यसलाई विलासी भन्न सुहाउँदैन,' उनले भने, 'विलासीको वस्तुको मापन नै गर्ने हो भने बरू मूल्य आधारमा गर्दा राम्रो हुन्छ।'
विजयका अनुसार छोटो अवधिका लागि ल्याइएको प्रावधान भएकाले बिक्री र बजारमा ठूलो असर पर्दैन। उनले केटिएमको २०० र २५० सिसीको बाइकको बढी माग हुने जानकारी दिए।
नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष ध्रुव थापा पनि बजारमा २५० भन्दा कम सिसीका बाइकको आयात रोकेर खासै फरक नपर्ने बताउँछन्।
उनी भन्छन्, 'धेरै पहिल्यैदेखि ठूलो क्षमताको बाइक आयातमा रोक लगाउने कुरा भएको हो। खासमा त्यस्ता बाइक महँगो हुने र आवश्यकताभन्दा विलासी वस्तुमा पर्ने हुनाले रोक लगाउने कुरा थियो। अहिले २५० सिसीभन्दा माथिको भन्ने कुरा छ। तर ३५० भन्दा बढी सिसीको बाइकलाई रोक लगाउँदा कम्पनीहरू मारमा पर्ने थिएनन्।'
अध्यक्ष थापाले हाललाई आयात रोक्दा समयसीमा तोकिएकाले बजार र व्यवसायमा असर नपर्ने बताए। उनका अनुसार अहिले विभिन्न कम्पनीसँग ५३ हजार बाइक स्टकमा छन्।
'तीमध्ये २५० सिसीभन्दा माथिका कतिवटा छन् भन्ने यकिन छैन,' अध्यक्ष थापाले थपे।
यामाहाका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्री भने विलासी सवारी आयात रोक्ने सरकारको मनसाय रहेको हो भने १५० सिसीभन्दा बढीको बाइक/स्कुटरको आयात रोक्नु उचित रहेको बताउँछन्।
उनी नेपालको अर्थतन्त्रमा सुधार नभएसम्म अटोमोबाइल क्षेत्रमा पनि सुधार नहुने बताउँछन्। हालको बजार तुलनात्मक हिसाबमा खस्केको उनको भनाइ छ।
'अहिलेको बजारलाई १५० सिसीका बाइकहरू उपयुक्त छन्। यसैको माग बढी छ। त्यसैले सरकारको नयाँ निर्णय कुन हिसाबमा गरियो भन्ने प्रस्ट छैन,' उनले भने, '२५० सिसीभन्दा बढीको बाइक महँगो हुन्छ। तर बजारमा यसको माग छैन र आयात पनि निकै कम छ।'
हाल यामाहाले पनि १५० सिसीसम्मको बाइकको बिक्रीमा जोड दिइरहेको सिइओ राजुले बताए। यसबाहेक कम्पनीले २५० सिसीभन्दा बढीका केही बाइक स्टकमा रहेको जानकारी दिए।
गत वर्षको तुलनामा यस वर्ष बाइकको मासिक बिक्रीमा कमी देखिएको नाडाका अध्यक्ष ध्रुव बताउँछन्। उनका अनुसार गत वर्ष मासिक ३० हजार बाइक बिक्री हुन्थे भने अहिले २० हजारदेखि २२ हजार वटासम्म बिक्री हुने गरेका छन्।
'पोहोर महामारीपछि निजी साधनको आवश्यकता धेरैलाई भयो। त्यसैले प्रतिबन्ध कम भएसँगै बजारमा दुईपांग्रे किन्नेको संख्या बढेको थियो। अहिले अवस्था सामान्य भएसँगै निजी सवारीको माग कम भएको छ,' उनले भने।