भारतीय अटो निर्माता कम्पनी टाटा मोटर्सले नयाँ विद्युतीय एसयुभी सार्वजनिक गरेको छ। कम्पनीले हाल भारतीय बजारको लागि भारु १७ लाख ७४ हजार (२८ लाख ३५ हजार रूपैयाँ)मा नयाँ 'नेक्सन इभी म्याक्स' सार्वजनिक गरेको हो।
नेक्सन इभी म्याक्सले एक पटकको पूरा चार्जमा ४३७ किलोमिटर माइलेज दिने बताइएको छ। भारतमा उत्पादन भएको यो पहिलो विद्युतीय गाडी हो जसले एक पटकको पूरा चार्जमा ४ सय किलोमिटरभन्दा बढी माइलेज दिने दाबी गरेको छ।
कम्पनीले नयाँ उत्पादनको आन्तरिक विशेषताहरूमा परिवर्तन गरेपनि यसको बाहिरी डिजाइन भने हाल बजारमा उपलब्ध विद्युतीय नेक्सनको जस्तै छ।
बजारमा उपलब्ध विद्युतीय नेक्सनमा भएको ब्याट्री प्याक ३०.२ किलोवाटको छ। नेक्सन म्याक्समा भने योभन्दा ३३ प्रतिशतले ठूलो ब्याट्री प्याक छ। यसले अधिकतम १४३ पिएस पावर र २५० एनएम टर्क जेनेरेट गर्छ। गाडी जम्मा ९ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रति घण्टाको रफ्तारमा चल्न सक्छ।
टाटा नेक्सन इभी म्याक्स ३.३ किलोवाट र ७.२ किलोवाट एसी फास्ट चार्जर विकल्पमा उपलब्ध छन्। ७.२ फास्ट चार्जरले चालक अथवा गाडीधनीको घर वा कार्यलयमै गाडी चार्ज गर्न सक्छन्।
गाडीलाई ५० किलोवाटको डिसी फास्ट चार्जरले पनि चार्ज गर्न सकिन्छ। उक्त चार्जरको प्रयोगले भने गाडी शून्यदेखि ८० प्रतिशत चार्ज हुन जम्मा ५६ मिनेट लाग्ने बताइएको छ।
नेक्सन इभी म्याक्स जिपट्रोन प्रविधिबाट सञ्चालित छ। यो नेक्सन इभी म्याक्स एक्सजेड प्लस र नेक्सन इभी म्याक्स एक्जेड प्लस लक्जरी गरी दुई ट्रिम विकल्पमा उपलब्ध छन्।
नेक्सन इभी म्याक्स इको, सिटी र स्पोर्ट गरी तीन ड्राइभिइ मोडमा चलाउन सकिन्छ। यसमा जेड कनेक्ट एपसँगै ४८ अन्य कार कनेक्ट फिचरहरू समावेश गरिएको छ। गाडीमा वायरलेस मोबाइल चार्जिङको सुविधा पनि पाउन सकिन्छ। पाँच सिटर यो एसयुभीमा ३५० लिटरको डिकी क्षमता दिइएको छ।
नेक्सन इभी म्याक्समा १६ इन्चको अलोय ह्विल छ भने २०५ एमएम ग्राउन्ड क्लेरेन्स पाउन सकिन्छ। सुरक्षाको लागि गाडीमा हिल एसेन्ट र हिल डिसेन्ट कन्ट्रोल, इबिडी सहितको एबिएस प्रविधि, कर्नरिङ स्टेबिलिटी कन्ट्रोल, डुअल एयरब्याग लगायत विशेषताहरू छन्।
नेक्सन इभी म्याक्सपछि अब टाटा मोटर्सले छिट्टै विद्युतीय टिगोर पनि सार्ववजनिक गर्दैछ। जसले एकपटकको पूरा चार्जमा ३०६ किलोमिटरको रेन्ज दिने बताइएको छ।