भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले काठमाडौं चक्रपथमा विद्युतीय रेल चलाउनुपर्ने आवश्यकता औंल्याएकी छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री यादवले रिङरोड भित्र चौबिसै घण्टा विद्युतीय रेल चलाउने गरी मन्त्रालयले काम गरिरहेको बताइन्।
रेल सञ्चालन ल्याएपछि काठमाडौंका सडकमा देखिएको अत्याधिक सवारी चाप कम हुने विश्वास उनले व्यक्त गरिन्। विद्युतीय रेलको प्रयोगले पेट्रोलियम पदार्थको खपत कम हुने र यसले वातावरण संरक्षण हुनुका साथै राज्य कोषको अर्बौं रकम जोगिने उनले बताइन्।
‘देशभर गुड्ने सवारीको ५० प्रतिशत त काठमाडौंमै गुड्छ,’ उनले भनिन्, ‘यहाँ सुरक्षित र दीगो पूर्वाधार, वातावारणमैत्री सवारीको खाँचो छ।’
पेट्रोल तथा डिजेलबाट चल्ने सवारीलाई विद्युतीकरण गर्न पनि सरकारले नीति ल्याउने उनले बताइन्।
‘मन्त्रालयले यो विषयलाई बजेटमा पनि प्राथमिकतामा राख्छ। पेट्रोलियम सवारीलाई विद्युतीकरण गर्न र सहरमा चार्जिङ स्टेशन विस्तार गर्न सरकारले व्यवसायीहरूलाई प्रोत्साहन गर्छ,’ उनले भनिन्।