भारतीय ट्रकहरूले तोकेभन्दा बढी सामान ओसारेको भन्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघले हालको जरिवाना शुल्क वृद्धि गर्न माग गरेको छ।
हाल भारतीय ट्रकहरूले कानुनमा तोकेभन्दा अत्यधिक भारवहन गर्ने गरेको भन्दै त्यस्ता ट्रकहरूमाथि कारबाही बढाउन मंगलबार विज्ञप्तिमार्फत् महासंघ माग राखेको हो।
यसबाहेक ट्रकहरूमा बढी भएका सामान चेक गर्ने क्रममा नै ओराल्न महासंघले सुझाव दिएको छ। यसले गर्दा नियतवस बढी सामान लोड गरेका व्यवसायी हतोत्साही हुने महासंघको बुझाइ छ।
अहिलेको अवस्थामा ठाउँ-ठाउँमा खटिएका ट्राफिक प्रहरीबाट भारवहनको चेकजाँच भए पनि १५ सय रूपैयाँसम्म मात्र जरिवाना तिराएर छाड्ने गरेको भन्दै उक्त जरिवाना अपर्याप्त भएको महासंघको ठहर छ।
त्यस्ता ट्रकलाई कि यातायात कार्यालयमा चलान गर्ने कि त सामान बढी भए झार्न महासंघको माग छ।
महासंघले सबै जिल्ला ट्राफिक प्रहरीलाई यसै सम्बन्धमा लिखित तथा मौखिक निर्देशन दिन अनुरोध गरेको छ।