चौधरी ग्रुपअन्तर्गत सिजी मोटर्सले पहिलाे पटक वातावरणमैत्री विद्युतीय सवारी भित्र्याएको छ। सिजी मोटर्सका प्रवन्ध निर्देशक निर्वाण चौधरीले पेट्रोलियम पदार्थको आयात घटाई व्यापार घाटा कम गर्ने सरकारी नीतिलाई सहयोग पुर्याउने उदेश्यले विद्युतीय सवारी भित्र्याएको बताए।
‘सरकारले नेपालको व्यापारघाटाको मुख्य कारक रहेको पेट्रोलियम पदार्थ खपत सन् २०५० सम्म आधा झार्ने योजना बनाएको छ,’ प्रवन्ध निर्देशक चौधरीले भने, ‘यहि योजनालाई सघाउन निजी र व्यवसायिक प्रयोग हुने विद्युतीय सवारी विस्तारमा लागेका हौं।’
कम्पनीले विश्व वातावरण दिवसको अवसर पारेर निटा भी सार्वजनिक गरेको हो। सार्वजनिक कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पनि उपस्थिति थियो।
कार्यक्रममा बोल्दै घिसिङले सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गरिरहेको बताए। ‘विद्युतीय सवारी चलाउँदा निकै सस्तो पर्छ। वातावरणमैत्री पनि भएकाले इभी प्रयोगमा जोड दिनुपर्छ,’ उनले भने, ‘विस्तारै हाइड्रोजन भेहिकलमा पनि जानुपर्छ। नेपालमा यसको ठूलो सम्भावना छ।’ यस्तो बिजुली तथा हाइड्रो सवारीको प्रयोगले पेट्रोलियम पदार्थको खपतमा कमी आई ब्यापार घाटा कम हुने विश्वास उनले व्यक्त गरे। त्यस्तै देशभर ५० वटा चार्जिङ स्टेसन निर्माण गरिने घिसिङले बताए।
निटा ब्राण्ड इभी चिनियाँ मोटर उत्पादक कम्पनी होजोन अटोमोबाइलले उत्पादन गरेको हो। यो कार होजोनले चीनमा सन् २०२० मा सार्वजनिक गरेको थियो।
यो कारले फुलचार्जमा ३८० किलोमिटर भन्दा बढी रेन्ज दिन्छ। यसमा ३८.५ किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग गरिएको छ। निटा भीको अधिकतम गति १०१ किलोमिटर प्रतिघण्टा छ। यसमा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा एक लाख ५० हजार किलोमिटर वारेन्टी दिइएको छ।
कारको फ्रन्ट एक्सएलमा रहेको विद्युतीय मोटरले ७० किलोवाट ९५ पिएस पावर र १६० एनटर्क जेनेरेट गर्छ। यो कारमा गर्मी वा जाडो मौसममा समेत ब्याट्रीको क्षमता कम नहोस् भनेर अटोमेटिक हिटिङ तथा कुलिङ प्रणाली राखिएको छ।
नेपाली बजारमा उपलब्ध निटा भी विभिन्न पाँच रङमा उपलब्ध छ। यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ पर्छ। सिजी मोटर्सका हरेक खरिदकर्तालाई ६.६ केडब्लूको चार्जर र एक वर्षको बीमा सुविधा निःशुल्क उपलब्ध हुने कम्पनीले बताएको छ।