नेपाली बजारमा क्रसफायर बाइकको मूल्य बढेको छ। क्रसफायर बाइकको तीन मोडलको मूल्य बढेको हो।
सरकारले २०० सिसीभन्दा माथिको बाइकको मूल्यमा भन्सार बढाएसँगै कम्पनीले पनि आफ्नो २५० सिसी माथिका बाइकको मूल्य बढाएको हो। कम्पनीले जेठ ३० (सोमबार) देखि लागू हुने गरी क्रसफायर आरएम २५०, क्रसफायर एचजे २५० र क्रसफायर ट्र्याकर २५० को मूल्य बढाएको हो।
यी बाइकहरूमा ३५ हजार रूपैयाँदेखि एक लाख ४० हजार रूपैयाँसम्मले मूल्य बढेको छ। कम्पनीको लोकप्रिय बाइक क्रसफायर आरएम २५०को मूल्य एक लाख ४० हजार रूपैयाँले बढेर ८ लाख ८८ हजार रूपैयाँ पुगेको हो। मूल्य वृद्धि अघि यसको मूल्य ७ लाख ४८ हजार रूपैयाँ थियो।
त्यस्तै, क्रसफायर एचजे २५० को मूल्य एक लाख रूपैयाँले बढेर ७ लाख ७० हजार रूपैयाँ पुगेको छ। क्रसफायर ट्र्याकर २५० को मूल्य भने ३५ हजार रूपैयाँले बढेर ४ लाख १० हजार रूपैयाँ पुगेको छ। मूल्य वृद्धि अघिसम्म यसको मूल्य ३ लाख ७५ हजार रूपैयाँ थियो।
क्रसफायरका विभिन्न मोडलका बाइक युवा पुस्तामाझ लोकप्रिय छ। यसको आकर्षक डिजाइन, स्पोर्टी लुक्स, पावर र पर्फर्मेन्सका कारण यो बाइक धेरैको रोजाइमा पर्ने गरेको हो।