नेपालमा एक वर्षमा पाँच अर्ब ३२ करोड पाँच लाख रूपैयाँभन्दा बढीका बिजुली कार, जीप तथा भ्यान भित्रिएका छन्।
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा धेरै एक सय किलोवाटसम्मका कार, जीप तथा भ्यान भित्रिएका छन्। तथ्यांकअनुसार एक सय किलोवाटसम्मका ९९६ वटा भित्रिएका छन्।
त्यसैगरी, दुई सय किलोवाटसम्मका ७९२ वटा कार, जीप तथा भ्यान भित्रिएका छन्। १५० किलोवाटका १३ वटा भित्रिएका छन्। दुई सय देखि तीन सय किलोवाटसम्मका ४ र तीन सय किलोवाटका २ गरी एक हजार आठ सय ७ वटा कार, जीप तथा भ्यान भित्रिएको तथ्यांकले देखाउँछ।
आर्थिक वर्ष २०७७/०७८ मा बिजुली कार, जीप तथा भ्यान ५६ करोड ७८ लाख बरारबरका २४९ वटा मात्रै भित्रिएका थिए। तथ्यांकअनुसार उक्त वर्ष एक सय किलोवाटसम्मका १२० वटा, ५० किलोवाटदेखि एक सय किलोवाटसम्मका २५, एक सय देखि १५० किलोवाटसम्मका ५१ र १५० देखि दुई सय किलोवाटसम्मका ५३ वटा कार, जीप तथा भ्यान भित्रिएका थिए।
आर्थिक वर्ष २०७७/०७८ सँग तुलना गर्दा आर्थिक वर्ष २०७८/०७९ मा ६२५ प्रतिशतले बिजुली गाडी आयात बढेको देखिन्छ। भन्सार विभागको तथ्यांक हेर्दा चीनबाट सबैभन्दा बढी बिजुली गाडी आयात हुने गरेको देखिएको छ।
आर्थिक वर्ष २०७८/०७९ मा चीनबाट ८ सय २३ वटा बिजुली गाडी आयात भएका छन्। त्यस्तै, भारतबाट ६९६ आयात भएका छन्। दक्षिण कोरियाबाट १८४ वटा बिजुली कार आयात भएको छ। जापानबाट ७८, युएईबाट २५, र फ्रान्सबाट एउटा बिजुली कार आयात भएको छ।
आर्थिक वर्ष २०७७/०७८ मा चीनबाट सबैभन्दा बढी १४० वटा बिजुली कार आयात भएको तथ्यांकले देखाउँछ। दक्षिण कोरियाबाट ७२ वटा बिजुली जीप, कार र भ्यान आयात भएका थिए। भारतबाट २५ वटा र युएईबाट १३ वटा आयात भएका थिए।
नेपालमा चीन, भारत, जापान, फ्रान्स अमेरिका, लगायत मुलुकबाट बिजुली कार लगायत सवारी आयात हुने गरेको छ। चीनबाट सबैभन्दा धेरै बिजुली गाडी आयात हुने गरेको छ।
पछिल्लो समय सरकारले तरलता अभावका कारण इन्धनबाट चल्ने निजी सवारीका लागि प्रवाह हुने कर्जामा कडाइ गरेको छ। विद्युतीय सवारी आयातमा भने कर सहुलियत दिँदै आएको छ। योसँगै बिजुली गाडीप्रति केही आकर्षण बढेको देखिन्छ।
चालु आर्थिक वर्षको बजेटमा सरकारले १ किलोवाट क्षमताभन्दा बढीका बिजुली कारमा भन्सार बढाइएको छ। अन्तः शुल्क पुनः लगाएको छ। मोटर पिकपावर १ किलोवाटदेखि २ सयसम्मका कारको भन्सार शतप्रशित बढाएर ३० प्रतिशत पुर्याइएको छ। यस्ता गाडीमा अन्तः शुल्क पनि ३० प्रतिशत लगाइएको छ।
२ सयदेखि ३ सय मोटर पिकपावर सम्मका बिजुली गाडीमा भन्सार महसुल ४५ प्रतिशत तोकिएको छ। अन्तः शुल्क पनि ४५ प्रतिशत छ। त्यस्तै, सरकारले ३ सय किलोवाट क्षमताभन्दा माथि मोटर पिकपावरका कारका हकमा भन्सार ६० प्रतिशत पुर्याएको छ। अन्तः शुल्क पनि ६० प्रतिशत नै पुर्याइएको छ।