बिवाइडीको आधिकारीक वितरक साइमेक्स इंकले आफ्नो दुई मोडल नयाँ इ सिक्स र एमथ्री मल्टिपर्पोज भ्यानको मूल्य बढाएको छ।
कम्पनीले इ सिक्समा १ लाख ५० हजार रुपैयाँ र एमथ्री भ्यानमा १ लाख २ हजार रुपैयाँले मूल्य वृद्धि गरेको हो ।
डलरको एक्सचेञ्ज रेटमा भएको वृद्धिले डलरको मूल्य बढ्दा गाडीको मूल्य बढाउनु परेको साइमेक्स इंकको भनाइ छ।
कम्पनीले विगत केही महिनादेखि डलरको एक्सचेन्ज रेट उकालो लाग्दा मूल्य बढाउनु पर्ने बाध्यता आएको भन्दै ग्राहकहरूलाई अहिलेको अवस्था बुझिदिन आग्रह समेत गरेको छ ।
साइमेक्स इंकका सिइओ साहिल श्रेष्ठले भने, ‘हामीले सन् २०२१ मा नेपालमा बीवाइडी इ सिक्स सार्वजनिक गर्दा जुन मूल्य तोकेका थियौ, निरन्तर त्यसमै बिक्री गरिरहेका थियौ। तर, पछिल्लो १५/१६ महिनामा डलरको एक्सचेन्ज रेटमा व्यापक वृद्धि भएको कारण हामीले मूल्य बढाउनु परेको हो। यसअघि नै बुकिङ गरेर बसेका ग्राहकले पुरानै मूल्यमा गाडी पाउनेछन् ।’
बीवाइडी इ सिक्सको नयाँ जेनेरेशन मोडल राम्रो संख्यामा बिक्री हुँदै आएको मोडल हो। बीवाइडीको ब्लेड ब्याट्री प्रयोग भएको कारण सुरक्षाको हिसाबले अब्बल र लामो रेञ्जको लागि उपयुक्त रहेको कम्पनीको दाबी छ।
नयाँ इ सिक्समा कम्पनीले ७१.७ किलोवाट आवर क्षमताको ब्याट्री र ७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ।
पूरै चार्जमा यसको रेञ्ज ५२२ किलोमिटर रहेको छ। साथै, ग्राहकले ७ किलोवाट क्षमताको एसी चार्जर पनि गाडीसँगै पाउने कम्पनीले बताएको छ।
एमथ्री ७ सिट क्षमताको गाडी हो। ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री उपलब्ध एमथ्री निकै आरमदायी भ्यान हो।
एक पटकको पूरा चार्जमा २७५ किलोमिटर रेञ्ज प्रदान गर्ने एमथ्रीमा १०० किलोवाट आवरको मोटर दिइएको छ। यसमा पनि ७ किलोवाट क्षमताको एसी चार्जर ग्राहकले पाउने कम्पनीले जानाकारी दिएको छ।