टाटा मोटर्सले गत जुलाई महिनाको बिक्री तथ्यांक सार्वजनिक गरेको छ ।
यस वर्षको जुलाई महिनामा टाटा ब्राण्डका ४७ हजार पाँच सय पाँच वटा गाडी विक्री भएको छ। यो अघिल्लो वर्षको तुलनामा ५७ प्रतिशतको वृद्धि हो।
अघिल्लो वर्षको यसै महिनामा कम्पनीले ३० हजार एक सय ८४ वटा गाडी विक्री गरेको थियो।
नेक्सन एसयुभी टाटा मोटर्सको सबैभन्दा बढी बिक्री हुने मोडेल तथा सम्पूर्ण गाडी उद्योगको सबैभन्दा वढी बिक्री हुने पाँच गाडीहरूमध्ये एक रहेको कम्पनीले बाताएको छ।
यस बाहेक पन्च र एल्ट्रोजको बजार बिक्री अवस्था पनि निरन्तर रूपमा उत्साहजनक बन्दै गएको जानकारी दिइएको छ।
त्यस्तै, गत महिना पाँच हजार चार सय ३३ वटा टाटा टिगोरको (कम्प्याक्ट सेडान) बिक्री भएको छ।
यो मासिक बिक्री संख्या यसको सन् २०१७ को मार्च महिनामा बजारमा सार्वजनिक भए पछिको सबैभन्दा उच्च रहेको कम्पनीले बताएको छ।
गत वर्षको जुलाई महिनाको तुलनामा यस वर्ष सोही महिनामा नेक्सनको बिक्रीमा १०५ प्रतिशतले वृद्धि भएको छ। यो गाडीले टाटा ब्राण्डको कुल वृद्धिमा ६४ प्रतिशत हिस्सा ओगटेको छ।
सन् २०२१ को अन्तिमतिर बजारमा ल्याइएको पन्च माइक्रो एसयुभीको बिक्री दर पनि गत महिना सबैभन्दा उच्च रहेको जनाइएको छ।
गत महिना ११ हजार सात वटा पन्च बिक्री भएको थियो जसका कारण टाटा मोटर्सले भारतीय चारपांग्रे बजारको मासिक बिक्री परिमाणमा एक अर्को नयाँ रेकर्ड कायम गर्न सफल भएको बताइएको छ।
टाटा मोटर्सको नेक्सन इभी र टिगोर इभीको गत महिना कुल बिक्री संख्या ४ हजार २२ रहेको छ। यो बिक्री संख्या हालसम्मकै विद्युतीय गाडीको क्षेत्रमा सबैभन्दा उच्च रहेको कम्पनीको दाबी छ।