रोयल इनफिल्डले भारतमा नयाँ बाइक सार्वजनिक गरेको छ। कम्पनीले भारतीय बजारको लागि हन्टर ३५० सार्वजनिक गरेको हो।
अटो वेबसाइट कार एन्ड बाइकका अनुसार हन्टर ३५० भारतीय बजारको निकै प्रतिक्षित बाइकमध्ये एक हो। कम्पनीले यो बाइक रेट्रो र मेट्रो गरी दुई भेरियन्टमा सार्वजनिक गरेको हो।
हन्टर ३५० मा रोयल इनफिल्डको बुलेट र क्लासिकमा जस्तै ३५० सिसी इन्जिन जडित छ। तर यसको बाहिरी डिजाइन (बडी स्टाइल) भने तुलनात्मक हिसाबमा स्पोर्टी छ। बाइकमा गोल आकारको हेडल्याम्प, इन्डिकेटर र छालाको सिंगल-पिस सिट दिइएको छ।
नयाँ रोयल इन्फिल्ड हन्टर ३५० मा ३४९ सिसी इन्जिन पावर, सिंगल सिलिन्डर, एसओएचसी, एयर/ओइल कुल्ड इन्जिन पावर छ। जसले ४ हजार आरपिएममा २७ एनएम टर्क र छ हजार एक सय आरपिएममा २०.२ बिएचपी पावर जेनेरेट गर्छ। यसमा पाँच स्पिड गियरबक्स दिइएको छ।
यो बाइकले प्रतिलिटर ३६.२ किलोमिटरको माइलेज दिने कम्पनीको दाबी छ। यसको टप-स्पीड भने ११४ किलोमिटर प्रतिघन्टा हुने बताइएको छ।
हन्टर ३५० को कुल तौल जम्मा १८१ केजी छ। यसमा १७ इन्चको अलोय ह्विल दिइएको छ भने ग्राउन्ड क्लियरेन्स १५० एमएम छ। बाइकको ह्विलबेस १,३७० एमएम र सिटको उचाइ ८०० एमएम छ।
कम्पनीले नयाँ हन्टर ३५० को सुरुवाती भारतीय बजार मूल्य एक लाख ५० हजार भारुदेखि एक लाख ६९ हजार भारु तोकेको छ।