मारुती सुजुकीले आफ्नो पहिलो विद्युतीय कार सन् २०२५ मा सार्वजनिक गर्ने भएको छ। कम्पनीले नयाँ विद्युतीय कारको निर्माण सन् २०२४ देखि सुरू गर्ने बताइएको छ।
भारतीय अटो वेबसाइट कारवालेका अनुसार सुजुकी मोटर कर्पले विद्युतीय सवारी साधन निर्माणका लागि भारतको गुजरातमा नयाँ म्यानुफ्याक्चरिङ प्लान्टको समेत निर्माण गर्दैछ। यसको लागि कम्पनीले एक खर्ब ४ अर्ब भारु खर्च गर्ने भएको छ।
कम्पनीले हालसम्म आफ्नो पहिलो विद्युतीय कार कस्तो हुन्छ भन्नेबारे जानकारी सार्वजनिक गरेको छैन। तर यसको मूल्य भारु १० लाख रुपैयाँसम्म पर्ने अनुमान छ। यतिबेला विश्व बजारमै इभी प्रविधि र ब्याट्री महँगो भएका कारण गाडीको मूल्यमा पनि असर देखिने भएको हो।
कम्पनीले नयाँ विद्युतीय कार निर्माण सकेपछि यसको परिक्षणमा विशेष ध्यान दिने बताएको छ। भारतीय बजारसँगै अन्य बजारको लागि उपयुक्त हुने ढंगमा मारुती सुजुकीको पहिलो विद्युतीय कार निर्माण हुँदैछ।
विभिन्न अफवाहहरू अनुसार मारुतीको पहिलो विद्युतीय कार मिड-साइज एसयुभी हुनेछ। र, यो सुजुकी र टोयोटाको सह-कार्यमा बन्नेछ। यसको कन्सेप्ट मोडल सन् २०२३ को अटो एक्स्पोमा हुने अनुमान छ। यो कार टोयोटाको डिएनजिए मोडुलर प्लेटफर्म जसले विद्युतीय पावरट्रेन समर्थन गर्छ, यसमा आधारित हुने बताइएको छ।
विभिन्न मिडिया रिपोर्टअनुसार गाडी ४८ किलोवाट र ५९ किलोवाट गरी दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ। ४८ किलोवाट ब्याट्री पावर भएको गाडीले एक पटकको पूरा चार्जमा ४०० किलोमिटरसम्मको माइलेज दिन्छ। त्यस्तै, ५९ किलोवाटको ब्याट्री जडित गाडीले ५०० किलोमिटरसम्मको माइलेज दिने क्षमता राख्छ।