हुन्डाईको चौथो जेनको टक्सन एसयुभी सार्वजनिक भएको छ। कम्पनीले बुधबार भारतीय बजारको लागि नयाँ टक्सन २०२२ सार्वजनिक गरेको हो।
भारतीय अटो वेबसाइट इन्डिया कार न्युजका अनुसार कम्पनीले चौथो जेनको नयाँ टक्सन प्लाटिनम र सिग्नेचर गरी दुई ट्रिममा सार्वजनिक गरेको छ।
प्लाटिनम ट्रिममा २.० लिटरको पेट्रोल इन्जिन जडित छ जसले १५६ पिएस पावर र १९२ एनएम टर्क जेनेरेट गर्छ। त्यस्तै, सिग्नेचर ट्रिममा २.० लिटर डिजेल इन्जिन जडित छ जसले १८६ पिएस पावर र ४१६ एनएम टर्क जेनेरेट गर्छ। गाडी ६ स्पीड अटोमेटिक र ८ स्पीड अटोमेटिक ट्रान्समिसन विकल्पमा उपलब्ध छ।
नयाँ टक्सन २०२२ मा स्टप एन्ड गो फिचरसाथको अडप्टिभ क्रुज कन्ट्रोल, हुन्डाई एडिएएस फिचर, लेन किपिङ असिस्ट, ६ एयरब्याग, फ्रन्ट र रिअर पार्किङ सेन्सर, हिल डिसेन्ट कन्ट्रोल, विद्युतीय स्टेबिलिटी कन्ट्रोल, १०.२५ इन्चको एचडी इन्फोट्नमेन्ट प्रविधि, वायरलेस चार्जर लगायत विशेषताहरू पाउन सकिन्छ।
त्यस्तै, यसमा प्यानोरामिङ रनरुफ, ६४ रंगको एम्बिएन्ट लाइटिङ, डुअल जोन क्लाइमेट कन्ट्रोल,३६० डिग्री क्यामेरा, रेन सेन्सिङ वाइपर्स, ८ वटा स्पीकर पनि समावेश गरिएको छ। यसका साथै गाडीमा भएको प्रविधिले एलेक्सा र गुगल असिस्ट पनि समर्थन गर्छ।
पहिलेको जेनको तुलनामा नयाँ हुन्डाई टक्सन २०२२ को लम्बाई बढी छ। यसको लम्बाई ४,६८० एमएम, चौढाई १,८६५ एमएम र उचाई १,६६५ एमएम छ। गाडीको ह्विलबेस २,७५५ एमएम छ भने यसको ग्राउन्ड क्लेरेन्स १९२ एमएम छ।
कम्पनीले यो एसयुभीको सुरुवाती बजार मूल्य भारु २७ लाख सात हजार तोकेको छ। नयाँ टक्सन २०२२ सेतो, कालो, ग्रे, निलो, रातो, सेतो (कालो छत भएको) र रातो (कालो छत भएको) गरी विभिन्न ७ रंगमा उपलब्ध छ।