भारतीय अटोमोबाइल उत्पादन कम्पनी महिन्द्रा एन्ड महिन्द्राले नयाँ स्कोर्पियो क्लासिक २०२२ सार्वजनिक गरेको छ। कम्पनीले शुक्रबार भारतीय बजारको लागि नयाँ स्कोर्पियो क्लासिक सार्वजनिक गरेको हो।
महिन्द्राको स्कोर्पियो क्लासिक 'क्लासिक एस' र 'क्लासिक एस ११' गरी दुई भेरियन्टमा सार्वजनिक भएको हो। यसबाहेक कम्पनीले हालै बजारमा स्कोर्पियो एन सार्वजनिक गरेको छ।
पुरानो जेनको तुलनामा नयाँ स्कोर्पियो क्लासिकको बाहिरी डिजाइन र यसको मेकानिकल विशेषताहरू पनि अपडेट गरिएको छ। यसमा कम्पनीको नयाँ लोगो राखिएको छ। यसको अगाडि भागको ग्रिल समेत कम्पनीले अपडेट गरेको छ।
कम्पनीका अनुसार पहिलेको तुलनामा नयाँ स्कोर्पियो क्लासिक ५५ केजीले हलुका छ। र, पहिलेको जेनले भन्दा १४ प्रतिशतले कम इन्धन खपत गर्छ। स्कोर्पियो क्लासिक २०२२ मा सेकेन्ड-जेन एमहक इन्जिन जडित छ जसले १३० बिएचपी पावर र ३०० एनएम टर्क जेनेरेट गर्छ। यो ६ स्पीड म्यानुअल गियरबक्समा उपलब्ध छ।
त्यस्तै, गाडीमा एलइडी हेडलाइट, एलइडी डिआरएल र फग ल्याम्प, ९.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट प्रविधि र १७ इन्चको अलोय ह्विल दिइएको छ। सुरक्षाको लागि गाडीमा अटो डोर लक, स्पीड अलर्ट, सिट बेल्ट रिमाइन्डर, प्यानिक ब्रेक इन्डिकेसन, एबिएस लगायत विशेषताहरू समावेश गरिएको छ।
स्कोर्पियो क्लासिक २०२२ रातो, कालो, सिल्भर, सेतो र ग्रे गरी पाँच विभिन्न रंग विकल्पमा उपल्बध हुने कम्पनीले जनाएको छ। कम्पनीले स्कोर्पियो क्लासिक २०२२ को बजार मूल्य भने आउँदो अगस्ट २० मा सार्वजनिक गर्ने घोषणा गरेको छ।
यसको बजारर मूल्य भारु ११ लाखदेखि १६ लाख हुने अनुमान छ। स्कोर्पियो क्लासिक २०२२ ले एक्सयुभी ३००, बोलेरो नियो र बोलेरोसँग प्रतिस्पर्धा गर्नेछ।