भारतीय बजारमा ओला इलेक्ट्रिकले नयाँ विद्युतीय स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो बेस भेरियन्टमा नयाँ एस-१ सार्वजनिक गरेको हो। यसको बजार मूल्य भारु ९९ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ।
भारतीय अटो वेबसाइट अटोकारका अनुसार नयाँ एस-१ मा ओला एस-१ प्रोको तुलनामा सानो ब्याट्री जडित छ भने विशेषताहरू पनि तुलनात्मक रूपमा कम छन्। सार्वजनिक नयाँ स्कुटरको लागि अहिले कम्पनीले बुकिङ खुला गरेको छ। यसको डेलिभरी भने सेप्टेम्बर ७ देखि हुने बताइएको छ।
नयाँ ओला एस-१ मा ३ किलोवाट आवर ब्याट्री प्याक जडित छ। यसलाई पूरा चार्ज गर्न पाँच घण्टा लाग्छ। एस-१ प्रोमा जस्तै नयाँ एस-१ मा जडित ब्याट्रीलाई घरमा सजिलै चार्ज गर्न सकिन्छ।
स्कुटरमा इको, नर्मल र स्पोर्ट मोड गरी तीन मोड छन्। स्कुटर इको मोडमा चलाउँदा एक पटकको पूरा चार्जले १२८ किलोमिटरको माइलेज दिने कम्पनीको दाबी छ। त्यस्तै, नर्मल मोडमा चलाउँदा १०१ किलोमिटर र स्पोर्ट मोडमा चलाउँदा ९० किलोमिटरसम्म माइलेज दिनेछ।
नयाँ एस-१ नियो मिन्ट, सेतो, सिल्भर, कालो र कोरल ग्याम गरी पाँच विभिन्न रंग विकल्पमा उपलब्ध छन्। यसमा टिएफटी डिस्प्ले, प्रोक्सिमिटी अनलक, साइलेन्ट मोड, एलइडी लाइटिङ लगायत विशेषताहरू छन्। यसबाहेक कम्पनीले ओला एस-१ को ब्याट्रीमा ५ वर्ष वारेन्टी दिने भएको छ।