सुजुकीले नेपाली बजारमा नयाँ प्रिमियम स्कुटर सार्वजनिक गर्दैछ। सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भिजी सुजुकीले आउँदो साता प्रिमियम स्कुटर एभिनिस १२५ सार्वजनिक गर्न लागेको हो।
स्पोर्टी डिजाइनमा रहेको नयाँ सुजुकी एभिनिस १२५ हेर्दा निकै आकर्षक छ। यसको अगाडि र पछाडि भागमा अग्रेसिभ लुक्स पाउन सकिन्छ। स्कुटरमा एलइडी हेडल्याप दिइएको छ।
स्कुटरमा १२४.३ सिसी, सिंगल सिलिन्डर, २ भल्भ, एयर कुल्ड, एफ आइ इन्जिन जडित छ। साथै यो बिएस-६ मापदण्डमा आधारित छ। उक्त इन्जिनले ६,७५० आरपिएममा ८.७ पिएस पावर र ५,५०० आरपिएममा १० एनएम टर्क जेनेरेट गर्न सक्छ।
स्कुटरमा ५.२ लिटरको इन्धन ट्याङ्क दिइएको छ। डिकी क्षमता भने २२ लिटरको छ। सुजुकी एभिनिस १२५ को कुल तौल १०६ केजी छ भने यसको ग्राउन्ड क्लेरेन्स १६० एमएम छ।
यो स्कुटरले प्रतिलिटर ४५ देखि ५० किलोमिटरसम्मको माइलेज दिने कम्पनीले जनाएको छ। यसबाहेक यसको टप स्पिड ९१ किलोमिटर प्रतिघण्टाको छ।
यसमा डिजिटल मिटर दिइएको छ। स्कुटरको स्ट्यान्ड खुलेसँगै इन्जिन आफै बन्द हुन्छ। स्कुटरलाई किक र सेल्फ दुवै तरिकाले स्टार्ट गर्न सकिन्छ।
हालसम्म कम्पनीले नयाँ एभिनिस १२५ को मूल्य सार्वजनिक गरेको छैन। स्कुटर सार्वजनिक गर्दै यसको मूल्य सार्वजनिक गर्ने बताइएको छ। नेपाली बजारमा सुजुकी एभिनिस १२५ हरियो, रातो, सेतो र कालो गरी चार विभिन्न रंग विकल्पमा उपलब्ध हुनेछ।
नयाँ सुजुकी एभिनिस १२५ ले बजारमा उपलब्ध टिभिएस एनटर्क १२५ र होन्डा ग्राजिया १२५ सँग प्रतिस्पर्धा गर्नेछ।