नेपाली बजारको बहुप्रतिक्षित सुजुकी एभेनिस सार्वजनिक भएको छ। सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भिजी सुजुकीले विशेष युवा पुस्ता लक्षित नयाँ एभेनिस-१२५ सार्वजनिक गरेको हो।
सुजुकी मोटर्सको अन्तर्राष्ट्रिय बिक्री तथा मार्केटिङ प्रबन्धक सशांक तल्वार, भिजी अटोमोबाइलका प्रबन्ध निर्देशक निकुंज अग्रवाल र सुजुकीका महाप्रबन्धक धिरज भट्टाराईले एकसाथ सोमबार सुजुकी एभेनिस सार्वजनिक गरेका हुन्।
सुजुकीका महाप्रबन्धक भट्टाराईले कार्यक्रममा स्वागत मन्तव्य दिँदै नयाँ एभेनिस नयाँ पुस्ताको रोजाइमा पर्न सक्ने क्षमता भएको स्कुटर बताए। उनले पछिल्लो समय बजारमा स्कुटरहरूको माग बढेसँगै सुजुकीले पनि नेपाली बजारमा नयाँ स्कुटरहरू भित्र्याउनेमा प्रतिबद्धता जनाए।
सुजुकीको नयाँ एभेनिस १२५ पावर, पर्फमेन्स र स्टाइल विशेष तयार पारिएको हो। स्पोर्टी डिजाइन दिइएको यो स्कुटर हेर्दै आकर्षक छ। स्कुटरमा १२४.३ सिसी, सिंगल सिलिन्डर, २ भल्भ, एयर कुल्ड, एफ आइ इन्जिन जडित छ।
साथै यो बिएस-६ मापदण्डमा आधारित छ। उक्त इन्जिनले ६,७५० आरपिएममा ८.७ पिएस पावर र ५,५०० आरपिएममा १० एनएम टर्क जेनेरेट गर्न सक्छ।
स्कुटरमा ५.२ लिटरको इन्धन ट्याङ्क दिइएको छ। यसको फ्युल क्याप सिट बाहिरै छ। डिकी क्षमता भने २१.८ लिटरको छ। सुजुकी एभेनिस १२५ को कुल तौल १०६ केजी छ भने यसको ग्राउन्ड क्लेरेन्स १६० एमएम छ। स्कुटरको अगाडि भागमा १२ र पछाडि १० इन्चको अलोय ह्विल छ।
एभेनिसको स्पिडोमिटर, ओडोमिटर, ट्रिममिटर र फ्युल गज जाँचको लागि डिजिटल मिटर दिइएको छ। यसमा चार्जिङ पोर्ट दिइएको छ। स्कुटरको हेडल्याम्प र टेललाइट दुवै एलइडी छ। यसको साइड लाइट बाइकको डिजाइनमा तयार पारिएको छ।
स्कुटरको स्ट्यान्ड खुला हुँदा इन्जिन आफै बन्द हुन्छ। यसले गर्दा यो स्कुटरको राइड सुरक्षित हुन्छ। स्कुटरलाई किक र सेल्फ दुवै तरिकाले स्टार्ट गर्न सकिन्छ। लामो दुरीको यात्रा गर्नको लागि उपयुक्त सिट छ भने यसको अगाडि खुट्टा राख्ने ठाउँ पनि फराकिलो छ।
कार्यक्रममा अन्तर्राष्ट्रिय बिक्री र मार्केटिङ प्रबन्धक सशांक तल्वारले नेपाली बजारमा सुजुकीको नयाँ एभेनिस सार्वजनिक गर्न पाउँदा खुशी व्यस्त गरे। उनले भविष्यमा सुजुकीको दुई पांग्रे सवारीको एसेम्ब्ली नेपालमै गर्ने गरी तयारी समेत भइरहेको जानकारी दिए।
नेपाली बजारमा सुजुकीको नयाँ एभेनिस कालो, सेतो, सुन्तले रंग र हरियो गरी चार विभिन्न रंग विकल्पमा उपलब्ध हुनेछ। हाललाई कम्पनीले यसको सुरुवाती बजार मूल्य दुई लाख ९९ हजार ९ सय रूपैयाँ तोकेको छ।
नेपाली बजारमा नयाँ एभेनिस १२५ ले होन्डा ग्राजिया र टिभिएस एनटर्कसँग प्रतिस्पर्धा गर्नेछ।