सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेकोप्रति सार्वजनिक यातायात केन्द्रीय महासंघले आपत्ति जनाएको छ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले सरकारले चाडवाडको मुखमा इन्धनको मूल्य घटाउनुपर्नेमा बढाएको भन्दै आपत्ति जनाएको हो।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटबढ हुँदा नेपालमा पनि सोही अनुपातमा मूल्य समायोजन हुनुपर्नेमा सोअनुसार कार्यान्वयन नभएको उल्लेख गरिएको छ।
'केही दिन पहिला अन्तर्राष्ट्रिय बजारमा दुई पटक मूल्य घटेर आउँदा यहाँ मूल्य समायोजन गरिएन। तर थोरै बढ्नासाथ यहाँ पनि बढाइयो,' विज्ञप्तिमा भनिएको छ।
दसैंतिहार नजिकिएको अवस्थामा भाउ घटाउनुपर्नेमा यसरी बढाइँदा आम उपभोक्ता पनि मारमा पर्ने महासंघले बताएको छ। यसले सार्वजनिक यातायातमा आश्रित परिवारको दैनिकीमै कठिन हुने उल्लेख गरिएको छ।
नेपाल आयल निगमले (हिजो) बिहीबार राति १२ बजेबाट लागू हुने गरी डिजेल र मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको हो।
निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेल १७८ रूपैयाँ लिटर पर्नेछ।