केही समयअघि काठमाडौं उपत्यकाका यातायात कार्यालयहरूले सवारी चालक अनुमति पत्र (लाइसेन्स ट्रायल) उत्तीर्ण गरिसकेपछि परीक्षणकालीन लाइसेन्स वितरण गर्न थालेका थिए। यस्तो लाइसेन्स ट्रायल उत्तीर्ण गरेर राजश्व बुझाएकै दिन पाइन्थ्यो।
हिजोआज कार्यालयले यस्तो कार्ड वितरण गर्न छाडेका छन्। प्रिन्टर बिग्रिएको र नयाँ उपलब्ध नभएको भन्दै यातायात कार्यालयहरूले यस्तो कार्ड वितरण बन्द गरेका हुन्।
यातायात व्यवस्था विभागले केही समय अगाडिदेखि मात्रै ट्रायल पास भएपछि सुरूको एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स वितरण गर्न थालेको थियो। तर बागमती प्रदेश सरकारले यस्तो लाइसेन्स अब वितरण नगर्ने गरी छलफल भइरहेको बताएको छ।
श्रम तथा यातायात मन्त्रालय हेटौंडाका प्रवक्ता हरिहर पोख्रेलले दोहोरो खर्च हुने हुँदा यस्तो कार्ड छपाइ नगर्ने कि भन्नेबारे छलफल भइरहेको बताए।
‘एक वर्षपछि स्मार्ट लाइसेन्स दिनैपर्छ। किन दोहोरो खर्च गर्ने भन्ने कुरा पनि उठेको छ। बरू सिधै स्मार्ट लाइसेन्स नै दिनुपर्छ भन्ने हाम्रो कुरा हो। विभागसँग समन्वय गरेर स्मार्टकार्ड नै जतिसक्दो छिटो वितरण गर्ने भन्ने हो,’ उनले सेतोपाटीसँग भने।
ट्रायल उत्तीर्ण गरेको एक वर्षभित्र सिधै स्मार्ट लाइसेन्स नै दिने तयारी रहेको उनले बताए।
कार्यालयमा भएका प्रिन्टरहरू पनि बिग्रिसकेका कारण तत्कालै प्रिन्टर किन्ने अवस्थामा प्रदेश सरकार नभएको उनले बताए।
‘विभागले सहजीकरण गर्यो भने वितरण गर्न सकिन्छ कि, होइन भने अप्ठ्यारै पर्छ,’ उनले भने।
यातायात व्यवस्था विभागले भने अब कार्ड वितरण गर्ने कि नगर्ने भन्ने जिम्मा प्रदेश सरकारकै भएको बताएको छ।
‘हामीसँग नमूनाका लागि एउटा प्रिन्टर छ। कोही विभागमै आउँछ भने हामी एक-दुईवटा कार्ड छापेर पनि दिन्छौं। तर अब कार्यालयहरूमार्फत् वितरण गर्ने कि नगर्ने भन्ने निर्णय प्रदेशकै हुन्छ,’ विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरूले भने।
हुन त वितरणको सुरूआतमै परीक्षणकालीन लाइसेन्स नै अभाव भएको थियो। बागमती प्रदेशका एकान्तकुना लगायत केही यातायात कार्यालयहरूबाट वितरण थालिएको यस्तो कार्ड लिन पनि घन्टौं कुर्नुपर्ने, कुर्दा पनि नपाउने लगायत समस्या थिए। यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक नमराज घिमिरेले भने क्युआरकोड सहितको यही लाइसेन्स नै स्मार्ट लाइसेन्सको विकल्प हुन सक्ने बताएका थिए।
के हो परीक्षणकालीन लाइसेन्स?
छपाइमा भएको ढिलाइका कारण सेवाग्राहीले स्मार्ट लाइसेन्स लिन वर्ष दिन कुर्नुपर्ने बाध्यताको विकल्पमा सुरू गरिएको हो परीक्षणकालीन लाइसेन्स। सरकारले अस्थायी रूपमा एक वर्ष अवधि राखेर यस्तो लाइसेन्स वितरण गरिरहेको थियो। ट्रायल पास भएर राजश्व बुझाएकै दिन एक वर्षको म्याद राखेर कार्यालयहरूले यस्तो लाइसेन्स दिन्थे।
पहिलो चरणमा ललितपुर एकान्तकुनास्थित कार्यालयबाट वितरण सुरू गरिएको यस्तो कार्ड देशैभर वितरण गरिने विभागको योजना थियो। जसले गर्दा स्मार्ट लाइसेन्सको समस्या केही हदसम्म हल हुने विश्वास गरिएको थियो।
यो कार्डमा सक्कली, नक्कली छुट्याउने क्युआर कोड प्रयोग गरिएको हुन्छ। कार्डमा भएको क्युआर कोड स्क्यान गरेर चालकको विवरण पनि हेर्न सकिन्छ। क्युआर कोड रिड गर्ने एप हरेक ट्राफिक प्रहरीको मोबाइलमा हुन्छ। ट्राफिक प्रहरीले परीक्षणकालीन लाइसेन्स रिड गर्ने एप पनि प्रयोगमा ल्याउन थालेको छ। उनीहरूले त्यो एपमार्फत रिड गरी सक्कली वा नक्कली भनेर छुट्याउन सक्ने हुँदा कार्ड विश्वासिलो पनि भएको विभागको दाबी छ।
पहिलो चरणमा विभागले यसलाई एक वर्षको मान्यता दिएको छ। एक वर्षसम्म पाँच पटकसम्म ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परे यो कार्ड खारेज हुनेछ। पाँच पटकसम्म कारबाहीमा नपरे मात्रै चालकले एक वर्षपछि स्मार्ट लाइसेन्स पाउनेछन्।
यस्तो कार्ड प्रतिगोटा छपाइमा पचास रूपैयाँ मात्र खर्च लाग्ने विभागले बताएको थियो। यस्तो कार्ड निःशुल्क दिइँदै आएको थियो।
नेपालमा ट्रायल उत्तीर्ण गरेको लामो समयसम्म स्मार्ट लाइसेन्स पाइँदैन। यसले गर्दा लाखौं चालकहरू स्मार्ट लाइसेन्सबाट बञ्चित छन्। नवीकरण गर्नेहरूले पनि लामो समयदेखि पाएका छैनन्। उनीहरू राजस्व तिरेको रसिदलाई लाइसेन्सका रूपमा प्रयोग गर्न बाध्य छन्।