काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा 'नाडा इभी एक्सपो २०२२' सुरू भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा आयोजित यो प्रदर्शनी असोज ६ गतेदेखि ९ गतेसम्म चल्नेछ।
प्रदर्शनी सिएटद्वारा प्रायोजित छ। नाडाले नेपालमा पहिलो पटक विद्युतीय सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला संघ-संस्थाहरूको उपस्थितिमा प्रदर्शनी गरेको हो। प्रदर्शनीमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रूपमा सहभागी छ।
प्रदर्शनीमा ग्राहकहरूले विभिन्न ब्रान्डका विद्युतीय चारपांग्रे, दुईपांग्रे र तीनपांग्रेबारे जानकारी प्राप्त गर्न सक्नेछन्।
वर्तमान समयमा विद्युतीय सवारी साधनहरूको महत्व बढदै छ। यस्ता सवारी साधनहरूको बढ्दो प्रयोगले नेपालमै उत्पादित जल-विद्युतको उपभोग बढ्छ। यसरी देशलाई आत्मनिर्भर बनाउन समेत सहयोग पुग्ने विश्वास आयोजकको छ।
प्रदर्शनीमा ठूला तथा साना गरी ५१ वटा स्टल र ब्लकहरू छन्। ६ वटा ब्रान्डका चारपांग्रे, एउटा तीनपांग्रे, १६ वटा ब्रान्डका दुईपांग्रे, ३ वटा ब्रान्डका टायर, २ वटा ब्रान्डका ब्याट्री, ९ वटा पार्टपुर्जा, ग्यारेज उपकरण कम्पनी एवम् अटो पत्रिका तथा ४ वटा वित्तीय संस्थाहरूको सहभागिता छ।