नेपाली बजारमा दुई पांग्रे सवारी साधनको माग बढ्दो छ। त्यसमध्ये पनि मोटरसाइलभन्दा स्कुटरमा युवा पुस्तादेखि वयस्क उमेरका मानिसहरूको रूची देखिन्छ।
हाल बजारमा एक दर्जन बढी ब्रान्डका स्कुटहरू उपलब्ध छन्। त्यसमध्ये पनि १२५ सिसी वा सोभन्दा बढी सिसीका स्कुटर भने सीमित कम्पनीले मात्रै भित्र्याइरहेका छन्।
१२५ सिसीका स्कुटरहरू ११० सिसीका स्कुटरका तुलनामा विशेषता बढी भएका, आकर्षक हुनुका साथै यसको मूल्य पनि बढी पर्छ। हाल बजारमा होन्डा, यामाहा, टिभिएस, सुजुकी, अप्रिलिया, भेस्पा, बेनेलीले १२५ सिसी र सोभन्दा बढीका स्कुटर बिक्री गर्दैछ।
सामान्यतया स्कुटरको मूल्य दुई लाखदेखि पाँच लाख बढीसम्म पर्छ। आज हामीले बजारमा उपलब्ध १२५ सिसी वा सोभन्दा बढीको दुई लाख पचास हजार भन्दा कममै उपलब्ध स्कुटरको सूची तयार पारेका छौं।
यी हुन् दुई लाख ५० हजार भन्दा कममा पाइने १२५ सिसीका स्कुटरहरूः
१. हिरो डेस्टिनी १२५
हिरो डेस्टिनी १२५ एलएक्स र भिएक्स गरी दुई भेरियन्टमा उपलब्ध छ। कम्पनीले यो स्कुटरको सुरुआती बजार मूल्य दुई लाख २८ हजार पाँच सय रूपैयाँ तोकेको छ।
१२४.६ सिसी डिस्प्लेसमेन्ट भएको यो स्कुटरमा एयर-कुल्ड चार स्ट्रोक, एसआइ इन्जिन जडित छ। जसले ६,७५० आरपिएममा ६.५ किलोवाट पावर र ५,५०० आरपिएममा १०.२ एनएम टर्क जेनेरेट गर्छ। यसमा ५.५ लिटरको इन्धन क्षमता छ भने प्रतिलिटर ४८ किलोमिटरसम्मको माइलेज दिन्छ।
यसको कुल तौल जम्मा १११.५ किलोग्राम छ भने १५५ एमएम ग्राउन्ड क्लेरेन्स र १,२४५ एमएम ह्विलबेस छ। यसको टप स्पिड ९८ किलोमिटर प्रतिघण्टाको छ।
बजारमा हिरो डेस्टिनी १२५ रातो, कालो र कटुस रंग (चेस्टनट ब्रोन्ज) गरी तीन रंग विकल्पमा उपलब्ध छ।
हिरोले १२५ सिसीमा मेस्ट्रो पनि बिक्री गर्दैछ। हिरो मेस्ट्रो १२५ अहिले बजारले रुचाएको स्कुटर हो। कम्पनीले यसको मूल्य भने दुई लाख ६८ हजार रूपैयाँ तोकेको छ। यो स्कुटरले प्रतिलिटर ४५ किलोमिटरसम्मको माइलेज दिन्छ।
२. होन्डा ग्राजिया १२५
यतिबेला नेपाली बजारमा होन्डाको ग्राजिया १२५ को मूल्य दुई लाख ३७ हजार ९ सय रूपैयाँबाट सुरू हुन्छ। १२४.९ सिसी डिस्प्लेसमेन्ट भएको ग्राजिया १२५ मा फ्यान कुल्ड, ४ स्ट्रोक, एसआई इन्जिन जडित छ। यसले ६,५०० आरपिएममा ८.५२ बिएचपी पावर र ५,००० आरपिएममा १०.५४ टर्क जेनेरट गर्छ।
होन्डा ग्राजियाले प्रति लिटर ६० किलोमिटरसम्मको माइलेज दिन्छ। यसको फ्युल क्षमता ५.३ लिटरको छ। यसमा १७१ एमएमको ग्राउन्ड क्लेरेन्स छ। यसको अगाडि १२ इन्च र पछाडि १० इन्चको ट्युबलेस टायर दिइएको छ। त्यसैले कच्ची बाटोमा पनि स्कुटर सहजै चलाउन सकिन्छ।
नेपाली बजारमा ग्राजिया १२५ सुन्तले रंग, कालो, रातो, सेतो, म्याट एक्सिस र म्याट मार्भल निलो गरी विभिन्न रंग विकल्पमा खरिद गर्न सकिन्छ।
बिएस-६ कम्प्लायन्ट जडित ग्राजियाको भने सुरुआती बजार मूल्य दुई लाख ७९ हजार ९ सय रूपैयाँ तोकिएको छ।
३. होन्डा एक्टिभा १२५
मेटल बडी भएको होन्डा एक्टिभा १२५ को अहिलेको बजार मूल्य दुई लाख ४२ हजार ९ सय रूपैयाबाट सुरू हुन्छ। यसमा जडित इन्जिनले ६,५०० आरपिएममा ८.६ बिएचपी पावर र ५,५०० आरपिएममा १०.१२ एनएम टर्क जेनेरेट गर्छ।
यसको अगाडि १२ इन्च र पछाडि १० इन्चको ट्युबलेस टायर दिइएको छ भने अगाडि टेलिस्कोपिक र पछाडि स्प्रिङ लोडेड हाइड्रोलिक सस्पेन्सन पाउन सकिन्छ।
स्कुटरको कुल तौल जम्मा ११० किलोग्राम छ। यसको ग्राउन्ड क्लेरेन्स १५५ एमएम र ह्विलबेस भने १,२६० एमएम छ। मेटल बडी हुनाले स्कुटर बलियो हुन्छ र कच्ची बाटोमा चलाउँदा आवाज पनि कम दिन्छ।
नेपाली बजारमा होन्डा एक्टिजा १२५ कालो, रातो, सेतो, निलो र म्याट गरी पाँच विभिन्न रंगमा उपलब्ध छ।
४. टिभिएस एनटर्क १२५
हाल बजारमा निकै रुचाइएको टिभिएसको एनटर्क १२५, बिएस-४ को ड्रम भेरियन्ट दुई लाख ३१ हजार ९ सय रूपैयाँ उपलब्ध छ। यसको डिस्क भेरियन्टको मूल्य भने कम्पनीले दुई लाख ६० हजार ९ सय रूपैयाँ तोकेको छ।
बजारमा एनटर्क १२५ पहेंलो, रातो, निलो, सेतो र ग्रे रंगमा उपलब्ध छ। १२४.८ सिसी डिस्प्लेसमेन्ट रहेको स्कुटरमा सिंगल सिलिन्डर, ४ स्ट्रोक, एयर-कुल्ड इन्जिन जडित छ। जसले ७,००० आरपिएममा ६.९ किलोवाट पावर र ५,५०० आरपिएममा १०.५ एनएम टर्क जेनेरेट गर्छ।
स्कुटर लामो दुरीको यात्राको लागि उपयुक्त छ। यसमा ५.८ लिटरको इन्धन ट्यांक छ भने प्रतिलिटर ५० किलोमिटरसम्मको माइलेज दिन्छ।
यसको तौल जम्मा ११८ किलोग्राम छ। स्कुटरको ग्राउन्ड क्लेरेन्स १८० एमएम र ह्विलबेस १,२८५ एमएम भएकोले पनि यसलाई कच्ची बाटोमा सजिलै चलाउन सकिने अनुमान लगाउन सकिन्छ।
यसबाहेक बजारमा एनटर्कका अन्य संस्करणहरू पनि रुचाइएको छ। टिभिएस एनटर्क १२५ रेस एडिसनको मूल्य कम्पनीले दुई लाख ७९ हजार ९ सय रूपैयाँ, यसको सुपार स्क्वाड एडिसनको दुई लाख ८४ हजार ९ सय रूपैयाँ र एनटर्क १२५ एफआई बिएस-६ को मूल्य दुई लाख ९५ हजार ९ सय रूपैयाँ तोकिएको छ।
५. सुजुकी बर्गम्यान स्ट्रिट १२५
सुजुकीको बर्गम्यान स्ट्रिट १२५ को बजार मूल्य यतिबेला दुई लाख ४१ हजार ९ सय रूपैयाँ रहेको छ। १२४ सिसी इन्जिन क्षमता रहेको यो स्कुटरले ७,००० आरपिएममा ८.७ पिएस पावर र ५,००० आरपिएममा १० एनएम टर्क जेनेरेट गर्छ। यसको अगाडि भागमा १२ र पछाडि १० इन्चको अलोय ह्विल दिइएको छ।
स्कुटरमा ५.६ लिटरको फ्युट ट्यांङ छ भने प्रतिलिटर ५३ किलोमिटरसम्मको माइलेज दिन्छ। यसले गर्दा स्कुटर लामो दुरीको लागि उपयुक्त छ। यसको टप स्पिड ९१ किलोमिटर प्रति घण्टा रहेको छ।
स्कुटरको ह्विलबेस १,३४० एमएम र ग्राउन्ड क्लेरेन्स १६५ एमएम छ। यसले स्कुटर कच्ची बाटोको लागि पनि उपयुक्त रहेको बुझ्न सकिन्छ। स्कुटरको बाहिरी बनावट पनि आकर्षक छ। बर्गम्यान स्ट्रिट १२५ ग्रे, सेतो र कालो रंगमा नेपाली बजारमा उपलब्ध छ।
योसँगै सुजुकीले बजारमा १२५ सिसी सेगमेन्टमा एसेस १२५ एफआई, बर्गम्यान १२५ एफआई र एभिनिस १२५ पनि बिक्री गर्दैछ। यी स्कुटरहरूको मूल्य क्रमसः दुई लाख ६५ हजार ९ सय रूपैयाँ, दुई लाख ९७ हजार ९ सय रूपैयाँ र दुई लाख ९९ हजार ९ सय रूपैयाँ तोकेको छ।
६. यामाहा रेडजआर १२५ एफआई
यामाहाले यतिबेला ११० भन्दा बढी सिसीमा रेजडआर १२५ एफआई, रेजेडआर स्ट्रिट, फ्यासिनो १२५ एफआई र एनम्याक्स १५५ बिक्री गर्दैछ। तर यी स्कुटरहरूको मूल्य दुई लाख ५० हजार भन्दा केही बढी छ।
रेजेडआर १२५ एफआईको अहिलेको बजार मूल्य दुई लाख ६४ हजार ९ सय रूपैयाँ छ। मूल्य अनुसार स्कुटरको विशेषताहरू पनि उपयुक्त छन्।
यामाहाको रेजेडआर १२५ एफआई विशेष फ्युल इफिसिएन्सीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर हो। त्यसैले यसले अन्य मोडलको तुलनामा बढी माइलेज दिन्छ। कम्पनीले दाबी गरेअनुसार यो स्कुटरले प्रतिलिटर ५८ किलोमिटरसम्मको माइलेज दिन्छ। स्कुटरमा ५.२ लिटरको इन्धन क्षमता दिइएको छ।
१२५ सिसी क्षमता भएको रेजेडआर कच्ची बाटोको लागि पनि उपयुक्त स्कुटर हो। यसले ६,५०० आरपिएममा ६.० किलोवाट पावर र ५,००० आरपिएममा ९.७ एनएम टर्क जेनेरेट गर्छ।
कम्पनीले रेजेडआर स्ट्रिट र्याली १२५ एफआईको मूल्य भने दुई लाख ९१ हजार ९ सय रूपैयाँ तोकेको छ। त्यस्तै फ्यासिनो १२५ एफआइ जसले प्रतिलिटर ५६ किलोमिटरसम्म माइलेज दिन्छ, यसको मूल्य दुई लाख ६७ हजार ९ सय रूपैयाँ तोकेको छ।
यामाहाको ११३ सिसीको फ्यासिनो ११३ को मूल्य दुई लाख १८ हजार ९ सय रूपैयाँ, रे जेडआर स्ट्रिट र्यालीको दुई लाख २० हजार ९ सय रूपैयाँ र रेजेड ११३ को मूल्य भने जम्मा दुई लाख १९ हजार ९ सय रूपैयाँ तोकिएको छ।
यसको यामाहाको एनम्याक्स १५५ सबैभन्दा महंगो स्कुटर हो। जसको मूल्य चार लाख ६९ हजार ९ सय रूपैयाँ तोकिएको छ।
यो पनिः सबैभन्दा धेरै माइलेज दिने पाँच ब्रान्डका स्कुटर (मूल्यसहित)
यी हुन् धेरै रूचाइएका ४५ लाखभन्दा कम मूल्यका गाडी, कति डाउनपेमेन्टमा किन्न सकिन्छ?
विद्युतीय चार पांग्रे किन्ने सोचमा हुनुहुन्छ? यी हुन् बजारले मन पराएको ब्रान्ड