बजाजले हालै नेपाली बजारमा बिएस-६ मापदण्डमा आधारित पल्सर एनएस १२५ सार्वजनिक गरेको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले गत साता एनएस १२५ सँगै एन १६० र एन २५० सार्वजनिक गरेको हो।
पल्सर एनएस १२५ बिएस-६ मापदण्डमा आधारित छ। अर्थात् यसले वातावरण प्रदूषण नियन्त्रण गर्न मद्दत पुर्याउँछ। साथै, उक्त मापदण्डमा आधारित सवारीले कम इन्धन खपत गर्छ।
नयाँ पल्सर एनएस १२५ मा डिटिएस-आई इन्जिन जडित छ। १२४.४५ सिसी डिस्प्लेसमेन्ट भएको उक्त इन्जिनले ८,५०० आरपिएममा ८.८२ किलोवाट पावर र ७,००० आरपिएममा ११ एनएम टर्क जेनेरेट गर्छ।
बाइकमा १२ लिटरको इन्धन क्षमता छ भने प्रतिलिटर ६४.७५ किलोमिटरसम्मको माइलेज दिने कम्पनीको दाबी छ। बाइकको कुल तौल जम्मा १४१ किलोको छ।
बाइकको बाहिरी आवरण स्टाइलिस र युवा पुस्तालाई आकर्षण गर्ने डिजाइनमा तयार पारिएको छ। यो पेरिमिटर फ्रेममा आधारित छ। बाइकमा ५ स्पीड ट्रान्समिसन छ।
कम्पनीले पल्सर एनएस १२५ मा १७ इन्चको ट्युबलेस टायर दिएको छ भने अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिएको छ। यसको ह्विलबेस जम्मा १,३५२ एमएम र ग्राउन्ड क्लेरेन्स १७८ एमएमको छ।
बाइकमा एलइडी हेडल्याम्प पाउन सकिन्छ। यसको टेललाइट पनि एलइडी छ। साइड इन्डिकेटर भने बल्ब टाइपमा दिइएको छ।
नेपाली बजारमा पल्सर एनएस १२५ निलो, ग्रे, रातो र सुन्तले रंग गरी चार विभिन्न रंगमा उपलब्ध छन्। कम्पनीले यो बाइकको सुरुआती बजार मूल्य दुई लाख ७९ हजार ९ सय रूपैयाँ तोकेको छ।