एमजी (मोरिस ग्यारेज) को विद्युतीय गाडी एमजी जेडएसको बुकिङ खुला गरिएको छ। नेपालको लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले आइतबारदेखि जेडएस इभीको लागि बुकिङ सुरू गरेको हो।
यो गाडी स्ट्यान्डर्ड रेन्ज र लङ रेन्ज गरी दुई भेरियन्टमा उपलब्ध छ। यसमा ग्राहकले ५१.१ किलोवाट आवर र ७२.६ किलोवाट आवर गरी दुइटा ब्याट्री प्याकको विकल्पहरू पाउन सक्छन्।
यसमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले छ। गाडीको बाहिरी र भित्री आवरण निकै सानदार छ। यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलइडी डिआरएल, एलइडी टेल ल्याम्पहरू छन्।
गाडीमा ७२ किलोवाट (केडब्लुएच)को ब्याट्री क्षमता दिइएको छ भने यसमा जडित मोटरले ११५ किलोवाटको पावर जेनेरेट गर्छ।
यो ८.५ सेकेन्डमा १०० किलोमिटर प्रति घण्टाको दरमा गुड्न सक्छ। गाडीले एक पटकको पूरा चार्जमा ४४० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ।
सुरक्षाको लागि एमजी जेडएस इभीमा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल अल-ह्विल डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामेरा जस्ता विशेषताहरू दिइएको छ।
कम्पनीले विद्युतीय एमजी जेडएसको सुरुआती बजार मूल्य ८१ लाख ९९ हजार रूपैयाँ तोकेको छ। नेपाली बजारमा यो निलो, सिल्भर, रातो, कालो र सेतो गरी पाँच विभिन्न रंग विकल्मा उपलब्ध छ।