नेपालमा नयाँ राइड सेयरिङ एप थपिएको छ।
काठमाडौंमा आइतबार एक कार्यक्रमबीच 'जाउँ गुरू' एप सार्वजनिक भएको हो।
आधुनिक फिचर्सका साथ एप तयार गरिएको कम्पनीको दाबी छ।
यो एपमा जिपिएस ट्रयाकिङ, चालक बीमालगायत सुविधा छन्।
२४सैं घण्टा सेवा दिने कम्पनीले बताएको छ। खल्तीलगायत वालेट प्रयोग गरेर अनलाइन भुक्तानी गर्न सकिन्छ।
जसमार्फत् मोटरसाइकल, ट्याक्सी, मोटरसाइकल ढुवानी, पानी ट्यांकर, मिनी ट्रक र जिप भाडामा लिन सकिन्छ।
तीन जना युवाहरू मिलेर राइड सेयरिङ बजारमा नयाँ सुरूआत गरेका हुन्।
लामो समयदेखि बेलायत बस्दै आएका इन्द्रहाङ लिङ्देन, खुसीमान लिम्बु र दिवाकर अर्याल जाउँ गुरू प्रालिका सञ्चालक हुन्।
कम्पनीका अध्यक्ष इन्द्रहाङ लिङ्देनले आफूहरूले एकै ठाउँमा धेरै किसिमका सेवा सुरू गरेको बताए।
'जाउँ गुरू सुरक्षित र स्मार्ट छ। यसमा बार्गेनिङ गरेर सेवा लिन सकिन्छ,' उनले भने।
सुरूमा काठमाडौं उपत्यका भित्र मात्रै सीमित हुने यो सेवा भविष्यमा उपत्यका बाहिर पनि विस्तार गरिने उनले बताए।