रोल्स रोयसले आधिकारिक रूपमा विद्युतीय गाडीको उत्पादन सुरू गरेको छ। कम्पनीले मंगलबार आफ्नो पहिलो विलासी विद्युतीय कार 'स्पेक्टर कूप'को अवधारणा सार्वजनिक गर्दै उक्त कुराको पुष्टि गरेको हो।
भारतीय अटो अखबार अटो हिन्दुस्तानका अनुसार रोल्स रोयसको नयाँ विद्युतीय स्पेक्टर कूप सेडान सेग्मेन्टको कार हो। यसले एक पटकको पूरा चार्जमा ५२० किलोमिटरको रेन्ज दिने बताइएको छ।
कम्पनीका अनुसार स्पेक्टर कूप सन् २०२३ को चौथो त्रैमासमा सार्वजनिक हुनेछ। र, सोही समय कारको डेलिभरी समेत सुरू गरिनेछ।
कार निर्माताका अनुसार स्पेक्टरले अधिकतम ५७७ एचपी पावर र ९०० एनएम टर्क जेनेरेट गर्नेछ। यो गाडी जम्मा ४.५ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रति घण्टाको रफ्तारमा गुड्न सक्नेछ। हालसम्म कम्पनीले यसको ब्याट्री प्याक र चार्जिङ क्षमताबारे भने सार्वजनिक गरेको छैन।
तर कम्पनीले सार्वजनिक गरेको यसको डिजाइन भने सानदार र विलासी छ। यो गाडीको सुरुआती बजार मूल्य अमेरिकी चार लाख १३ हजार पाँच सय डलर अर्थात् नेपाली करिब पाँच करोड ४२ लाख २५ हजार रूपैयाँ पर्ने अनुमान लगाइएको छ।