विश्व बजारमा तीव्र गतिमा बिक्री भइरहेको बिवाइडीको एटो-३ शनिबार पोखरामा सार्वजनिक हुँदैछ। पर्यटकीय सहर पोखरामा पृथक विशेषता र डिजाइनमा तयार भएको विद्युतीय कार एटो-३ पोखराको बिवाइडी सोरुम उत्तमचोकमा सार्वजनिक हुन लागेको हो।
पोखराको लागि आधिकारिक बिक्रेता प्लगइन अटोमोबाइल्सले एटो-३ सार्वजनिकसँगै बिवाइडीको एक्सुसिलिभ सोरुमको पनि उद्घाटन हुने जनाएको छ।
चीनको विद्युतीय गाडी निर्माता बिल्ड योर ड्रिम्स (बिवाइडी) को एटो-३ लाई बहुप्रतिक्षित प्रिमियम एसयुभी मानिन्छ।
पोखराका कर्पाेरेट हस्ती, सामाजिक व्यक्तित्व र सञ्चारकर्मीका बीच सार्वजनिक हुन लागेको एटो-३ को आइतबारदेखि नै बुकिङ खुला हुने कम्पनीले जनाएको छ।
८९ लाख ९० हजार पर्ने एटो-३ को तीन लाख रुपैयाँमा बुकिङ गर्न सकिने प्लगइन अटोमोबाइल्सका प्रबन्ध कृष्ण काफ्लेले बताए। एटो-३ को आइतबारदेखि टेस्ट ड्राइभ पनि गर्न सकिने उनले जनाए।
नेपालका लागि बिवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले गत शनिबार एटो-३ घरेलु बजारमा सार्वजनिक गरेको थियो। एटो-३ ले पछिल्लो पटक विश्व बजारमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ। गत साता भारत र मंगोलियामा पनि एटो-३ सार्वजनिक भएको थियो।
आकर्षक विशेषता र विलासी सुविधाका कारण विश्व बजारमा लोकप्रिय एटो-३ नेपाली उपभोक्ताहरूको रोजाइमा पनि पर्ने कम्पनीले विश्वास लिएको छ। एटो-३ का ब्राण्ड एम्बास्डरको रूपमा हरिवंश आचार्य हुन्।
एटो-३ मा ५० किलोवाट र ६०.५ किलोवाट क्षमतायुक्त ब्याट्री जडित छ। बिवाइडीले तयार पारेको ब्लेड ब्याट्रीले कारलाई पूर्ण सुरक्षित पारेको छ।
एटो-३ एकपटक पूरा चार्ज गर्दा ४ सय ५० किलोमिटर कुद्न सक्छ। नेपालमा उपलब्ध बिवाइडीका कारमध्ये एटो-३ मा सबैभन्दा शक्तिशाली मोटर जडित छ। यसको एक्सिलेरेसन पावर झन उत्कृष्ट छ। एटो-३ ले ७.३ सेकेन्डभित्र शून्यदेखि १ सय किलोमिटर प्रतिघन्टाको गति समाउन सक्छ।
एटो-३ मा १२.८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम जडित छ। यसमा एप्पल कार प्ले र एन्ड्रोइड सिस्टमको सुविधा उपलब्ध छ। त्यसैगरी डिजिटल इन्स्ट्रुमेन्टल कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर सिट, पाँच इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, सातवटा एयर ब्याग, एडभान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम सुविधा पनि यसमा उपलब्ध छन्।
एटो-३ को बाहिरी डिजाइन आकर्षक छ। थिक क्रोम होराइजन्टल स्ट्रिप, एलइडी हेडलाइट, एलइडी डिआरएल, भर्टिकल एयर इन्टेक, डुअल टोन एलोय ह्विल, एलइडी टेल लाइट जडित छन्।