चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सात सय ५ वटा विद्युतीय चार पांग्रे गाडी भित्रिएका छन्। यो भनेको गत साउनदेखि असोज महिनासम्मको तथ्यांक हो।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा एक अर्ब ९१ करोड बराबरको १०० किलोवाटसम्मका ६ सय ८६ वटा कार, जिप र भ्यान आयात भएका छन्।
त्यस्तै १०० किलोवाटदेखि २०० किलोवाटसम्मका १७ वटा यस्ता सवारी साधन नेपाल भित्रिएका छन् भने दुई वटा २०० किलोवाटभन्दा बढी र ३०० किलोवाटसम्मका सवारी साधन आयात भएका छन्।
गत आर्थिक वर्षको सोही त्रैमासमा जम्मा चार सय ४६ यस्ता विद्युतीय कार, जिप र भ्यान आयात भएका थिए। सो आर्थिक वर्षमा २०० किलोवाटभन्दा माथिका गाडी आयात भएका थिएनन्।
चालु आर्थिक वर्ष आयात भएका विद्युतीय सवारी साधनबाट सरकारले कुल ६२ करोड २२ लाख रूपैयाँको राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले विद्युतीय चार पांग्रे सवारी साधन आयातबाट जम्मा ३८ करोड २९ लाख ६० हजार रूपैयाँको राजस्व संकलन गरेको थियो।
सरकारले यतिबेला पेट्रोल तथा डिजेलबाट चल्ने गाडी आयातमा प्रतिबन्ध लगाएको छ। यस्तो अवस्थामा बजारमा इन्धनबाट चल्ने गाडीको अभाव भएको व्यवासयीहरूले बताएका छन्। तर अर्कातर्फ बजारमा विद्युतीय सवारी साधनको माग बढ्दो छ।
नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपालले गत असोजमा मात्रै पनि विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्न नेपालमा पहिलो पटक 'नाडा इभी एक्स्पो २०२२' आयोजना गरेको थियो।