सरकारले इन्धनबाट चल्ने सवारी साधन आयातमा लगाएको प्रतिबन्धका कारण यतिबेला नेपालभरका विभिन्न स्थानका शोरुमहरू बन्द भएका छन्।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार हालसम्म देशभर ५८ वटा शोरुम बन्द भएका छन्। त्यस्तै एक सय बढी शोरुमहरू बन्द हुने अवस्थामा पुगिसकेको छ।
'आयात प्रतिबन्धका कारण नेपालभरका शोरुम प्रभावित छन्। केही समय डिलरहरूले कर्मचारी कटौती गर्दै शोरुम सञ्चालन गरे। तर यस्तो कतिन्जेल भन्ने हुन्छ,' नाडाका अध्यक्ष ध्रुव थापाले भने, 'उनीहरूलाई पनि निकै समस्या भएपछि शोरुम नै बन्द गर्नुपर्ने अवस्थामा पुगेका हुन्।'
उनका अनुसार यसबाहेक यतिबेला थप एक सय वटा शोरुम बन्द हुने स्थितिमा छ। विभिन्न डिलर र शोरुममा कार्यरत कर्मचारी संख्या ३० देखि ३५ प्रतिशतले कटौती भइसकेका छन्। सवारी साधन आयातमा लागेको प्रतिबन्ध अझै नखुल्ने हो भने यो संख्या ५० प्रतिशतसम्म पुग्न समय नलाग्ने समेत उनी बताउँछन्।
नाडाको तथ्यांकअनुसार प्रदेश नं १ मा ९ वटा, मधेस प्रदेशमा ११ वटा, बागमति प्रदेशमा १८ वटा, गण्डकी प्रदेशमा ७ वटा, लुम्बिनी प्रदेशमा ३ वटा, कर्णाली प्रदेशमा ७ वटा र सुदूरपश्चिम प्रदेशमा ३ वटा सोरुम बन्द भएका हुन्।
नाडाका अनुसार हाल नेपालमा एक हजार २५ वटा सवारी साधन शोरुम छन्। तीमध्ये प्रदेश नं १ मा १४५ वटा, मधेस प्रदेशमा ९५ वटा, बागमति प्रदेशमा ३७८ वटा, गण्डकी प्रदेशमा १८२ वटा, लुम्बिनी प्रदेशमा १०५ वटा, कर्णाली प्रदेशमा ६२ वटा र सुदूरपश्चिम प्रदेशमा ५८ वटा शोरुम छन्।
त्यस्तै स्पेयर पार्टस स्टोर र वर्कसपहरू गरी १० हजारको संख्यामा छन्। यी क्षेत्रको व्यवसाय पनि घट्दो अवस्थामा रहेको नाडाको भनाइ छ।
अध्यक्ष ध्रुवले समेत आफ्नो कम्पनीमा कार्यरत ३० प्रतिशत कर्मचारी कटौती गरेको बताए। 'डिलर र शोरुमहरूमा कोभिड समय ५० प्रतिशतसम्मले कर्मचारी कटौती गरिएको थियो। त्यस्तै अवस्था सिर्जना हुँदैछ। यस्तै अवस्था रह्यो भने सवारी साधन क्षेत्रलाई पुनः व्युँताउन कठिन पर्छ,' उनले भने।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख दोस्रो सातादेखि 'विलासिता’]' का १० वस्तुमाथि आयात प्रतिबन्ध लगाएको थियो। उक्त सूचीमा परेका केही वस्तुहरूमा चार महिनापछि भदौको दोस्रो साता प्रतिबन्ध खुला गरिएको छ।
तर विदेशी मुद्राको सञ्चितिमा अपेक्षाकृत सुधार नभएका कारण केही वस्तुमा लागेको प्रतिबन्ध अझै खुला गरिएको छैन।
जसमध्ये इन्धनबाट चल्ने जिप, कार र भ्यान (एम्बुलेन्स र शवबाहन बाहेक) सँगै १५० सिसी माथिका मोटरसाइकल, सबै प्रकारका तयारी मदिरा र तीन सय डलर माथिका स्मार्टफोन पर्छन्। यी वस्तु आयातमा मंसिर मसान्तसम्म प्रतिबन्ध कामय नै छन्।
नाडा अध्यक्ष ध्रुवले आयात प्रतिबन्ध खुला भएको करिब तीन महिनापछि मात्रै सवारी साधन व्यवसाय चलायमान हुने अपेक्षा राखेका छन्।
उनका अनुसार प्रतिबन्ध हटेको तीन महिना पछि मात्रै गाडी आयात सुरू हुने सम्भावन उच्च छ। तर अहिले सवारी साधन क्षेत्रले ठूलो मात्रामा नोक्सानी बेहोर्नु परेको छ। र यसलाई उकास्न समय लाग्छ।