नेपाल आयल निगमले विद्युतीय सवारी साधन खरिद गर्ने भएको छ। निगमले ३ वटा विद्युतीय चार पांग्रे र ५ वटा विद्युतीय स्कुटर खरिद गर्ने भएको हो।
निगमका इन्जिनियरिङ तथा परियोजना विभागका उपनिर्देशक भरत रेग्मीका अनुसार टेन्डर आह्वान गरेर विद्युतीय सवारी साधन खरिद गर्ने प्रक्रिया अगाडि बढिसकेको छ। 'सम्भवत हप्ता-दश दिनमा गाडी खरिद गरिसक्ने छौं,' उनले सेतोपाटीसँग भने।
पेट्रोल तथा डिजेल आयात गर्ने निगम आफैले विद्युतीय सवारी साधन खरिद गरेर आफूहरू जनताको लागि उदाहरण बन्न चाहेको रेग्मीले बताए।
'प्रत्येक वर्ष हामी भारत सरकारलाई ठूलो मात्रामा शुल्क बुझाइरहेका छौं। तर अहिले सवारी साधन क्षेत्रमा विद्युतीयकरणको अवधारण विकसित भइहेको बेला यो कदम लिनु भनेको उदाहरण बन्नु हो,' उनले भने, 'अत्यावसेक क्षेत्रमा मात्रै इन्धन प्रयोग होस् भन्ने हाम्रो पनि चाहना हो।'
उपनिर्देशक रेग्मीका अनुसार निगमले बिवाईडी, हुन्डाई र एमजीका विद्युतीय चार पांग्रेमध्ये कुनै एक कम्पनीको गाडी खरिद गर्दैछ। स्कुटर भने कुन ब्रान्डको खरिद गर्ने भन्नेबारे निश्चित भएको छैन।