पछिल्लो समय सवारी साधन खरिद गर्ने ग्राहकहरूको आकर्षण विद्युतीय ब्रान्ड र मोडलतर्फ बढेको छ। एक दशक अघिको तुलनामा सडकमा अहिले थुप्रै विद्युतीय दुई पांग्रे र चार पांग्रे गुडिरहेका छन्। दैनिक प्रयोगको लागि अझ विशेष विद्युतीय स्कुटरप्रति मानिसहरू आकर्षण बढ्दो रहेको व्यवसायीहरू बताउँछन्।
तपाईं पनि विद्युतीय स्कुटर खरिद गर्ने सोचमा हुनुहुन्छ? सवारी साधन खरिद गर्नुअघि ग्राहकले विभिन्न कुराहरू ख्याल गर्न जरुरी छ। आफ्नो आवश्यकता अनुसारको साधन खरिद गरेमा भविष्यमा सहज हुन्छ। विद्युतीय स्कुटर खरिद गर्दै हुनुहुन्छ भने यी कुरालाई ध्यानमा राख्नुस्ः
१. आवश्यकता कि विकल्प छुट्याउनुस्ः
स्कुटर दैनिक प्रयोगको लागि खरिद गर्दै हुनुहुन्छ कि विकल्पको लागि राख्दै हुनुहुन्छ? यो पहिले बुझ्नुस्। किनभने यदी तपाईंले लामो समयसम्म विद्युतीय स्कुटर नचलाई राख्नुभयो भने यसको ब्याट्रीमा समस्या आउन सक्छ। जस्तै ब्याट्रीको पावर, भोल्टेज र राइडिङ माइलेज घट्ने सम्भावना बढी हुन्छ। दैनिक प्रयोग भएको खण्डमा भने यो समस्या आउँदैन।
२. डिजाइन र रंगः
हामीलाई कुनै पनि साधन हेर्दै आकर्षिक होस् भन्ने लाग्छ। तपाईंले स्कुटर खरिद गर्नु अघि आफूलाई उचित लागेको डिजाइन छ वा छैन भन्ने हेर्नुस। फेरि भविष्यमा मन नपर्न सक्छ। तपाईंको व्यक्तित्व झल्केन डिजाइनको स्कुटर लिनुस्। युवा पुस्तालाई चकिलो रंग मन पर्न सक्छ। अधबैंस उमेरका ग्राहकहरूको रोजाइमा भने म्याट रंग पर्न सक्छ।
३. क्षमता र पर्फमेन्सः
स्कुटर खरिद गर्दा बाहिरी आवरण र डिजाइन मात्र आकर्षक भएर हुँदैन। यसको पर्फमेन्स पनि राम्रो हुन जरुरी छ। स्कुटर खरिद गर्नु अघि तपाईंको आवश्यकता उक्त स्कुटरले पुर्याउन सक्छ वा सक्दैन भन्ने विचार पुर्याउनुस्। यसको ब्याट्री क्षमता र मोटर पावरबारे अध्ययन गर्नुस्। त्यस्तै ब्रेक, डिस्प्ले, कनेक्टिभिटी फिचर, डिकीको क्षमता लगायत विशेषताहरू पनि हेर्नुस्।
४. पावर मोडः
विद्युतीय स्कुटरमा दिइने पावर मोडले पनि स्कुटरको पर्फमेन्समा प्रभाव पार्छ। त्यसैले विद्युतीय स्कुटर खरिद गर्नु अघि यसको कतिवटा मोड छन् भन्ने हेर्नुस्। प्रायः विद्युतीय स्कुटरमा इको र स्पोर्ट गरी दुई मोड हुन्छन्। यी बाहेक कम्पनीअनुसार र मोडल अनुसार मोड फरक-फरक हुन्छन्।
५. चार्ज हुन लाग्ने समय र माइलेजः
विद्युतीय स्कुटरमा जडित ब्याट्री अनुसार यसलाई चार्ज हुन कति समय लाग्छ भन्ने निर्धारण गर्न सकिन्छ। प्रायः विद्युतीय स्कुटर पूरा चार्ज हुन ५ देखि ८ घण्टा लाग्छ। कम्पनी र मोडल अनुसार यो फरक पर्छ। त्यस्तै एक पटक पूरा चार्ज गरेपछि कति किलोमिटर गुड्छ भन्ने पनि ख्याल राख्नुस्। यसबाहेक कम्पनीले कुन-कुन ठाउँमा चार्जिङ स्टेसन दिएको छ भन्ने पनि बुझेर मात्रै स्कुटर खरिद गर्नुहोला। स्कुटरको टप-स्पीड पनि बुझ्नुस्।
६. सर्भिस सेवाः
इन्धनबाट चल्ने स्कुटर जस्तो विद्युतीय स्कुटरलाई समय-समयमा सर्भिस गर्नुपर्दैन। तर यसलाई पनि मर्मतको आवश्यकता भने पर्छ। तपाईंले खरिद गर्नुभएको स्कुटर कम्पनीले बिक्री पछि के-कस्ता सुविधा दिन्छन् भन्ने बुझ्नुस्। कम्पनीले दिने प्रस्ताव चित्त बुझे मात्रै स्कुटर खरिद गर्नुस्।
७. वारेन्टी र मूल्य
विद्युतीय सवारी साधन कम्पनीहरूले आफ्नो साधनमा केही समयको वारेन्टी दिन्छ। यसबारे स्कुटर खरिद गर्नुअघि बुझ्नुस्। कम्पनीले मोटर र ब्याट्रीमा वारेन्टी दिन्छ। त्यस्तै तपाईंले खरिद गरेको स्कुटरको मूल्य अनुसारको विशेषताहरू छन् वा छैनन् भन्ने विचार गर्नुस्।
विद्युतीय स्कुटर खरिद गर्नुअघि यीबाहेक अन्य थुप्रै कुरामा ध्यान दिनुपर्छ। तपाईंको आवश्यकता र स्कुटरमा भएका विशेषता/फिचरहरूलाई तुलना गरेर मात्रै स्कुटर खरिद गर्नुहोस्। अन्य कोही व्यक्तिले भनेको आधारमा स्कुटर खरिद गरिहाल्ने नगर्नुस्। खरिद गर्न लागेको स्कुटरबारेआफै पनि अध्ययन गर्नुस्।