निशान मोटर्सले भारतीय बजारमा आफ्नो नयाँ गाडीको परीक्षण सुरू गरेको छ। निशानले भारतीय बजारको लागि नयाँ पाँच-सिटर एसयुभी 'कश्काई' सार्वजनिक गर्दैछ। हाल यही एसयुभीको स्थानीय बजारमा परीक्षण भइरहेको हो।
भारतीय अटो वेबसाइट कारवालेका अनुसार विश्व बजारमा कश्काई एसेन्टा प्रिमियम, एन-कनेक्टा, टेक्ना र टेक्ना प्लस गरी चार विभिन्न भेरेयन्टमा उपलब्ध छन्।
हाल बजारमा परीक्षणमा रहेको कश्काईको बाहिरी डिजाइन आकर्षक छ। यसमा सी-आकारको एलइडी हेडल्याम्प र सिंग्नेचर भी-मोसन ग्रिल देख्न सकिन्छ। यसमा फराकिलो फग लाइट देख्न सकिन्छ भने यसमा डुअल-टोन रिअर बम्पर देख्न सकिन्छ।
गाडीमा अलोय ह्विल दिइएको छ जसको आकार १८ देखि २० इन्चको देखिन्छ। गाडीको लम्बाई ४,४२५ एमएम, चौढाई १,८३५ एमएम र उचाई २,६६५ एमएम छ। यसको ग्राउन्ड क्लेरेन्स भने १८८ एमएम छ।
गाडीको भित्री भाग पनि सानदार र आरामदायी देखिन्छ। यसमा प्यानारोमिक सनरुफ पनि पाउन सकिन्छ। यसमा पुरै डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट प्रविधि, डुअल जोन क्लाइमेट कन्ट्रोल, इन्जिन स्टार्ट-स्टप बटन, अटो-होल्ड विशेषतासहितको इलेक्ट्रिक ब्रेक र कप होल्डर पनि दिइएको छ। त्यस्तै गाडीमा ३६० डिग्री क्यामेरा छ।
निशान कश्काईमा १.५ लिटर, थ्री सिलिन्डर पेट्रोल इन्जिन जडित विद्युतीय मोटर छ। यसले १८८ पावर र ३३० एनएम टर्क जेनेरेट गर्छ। गाडीको टप स्पीड १७० किलोमिटर प्रति घण्टा हुने बताइएको छ।
यी विशेषता भएको निशान कश्काई भारतीय बजारमा सन् २०२३ को मध्यतिर सार्वजनिक हुने बताइएको छ।
कम्पनीले यसको सुरुआती बजार मूल्य भारु २५ देखि ३० लाख तोक्ने अनुमान छ। कश्काईले बजारमा उपलब्ध हुन्डाईको टुस्कन र सिट्रोन सि-५ एयरक्रससँग प्रतिस्पर्धा गर्नेछ।