बजारमा विद्युतीय सवारी साधनको माग बढ्दै गर्दा होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डिया (एचएमएसआई) पनि यतिबेला आफ्नो पहिलो विद्युतीय स्कुटर सार्वजनिक गर्ने तयारीमा छ।
भारतीय अटो वेबसाइट गाडीवालाका अनुसार होन्डाले सन् २०२३ को पहिलो त्रैमासमा आफ्नो पहिलो विद्युतीय स्कुटर सार्वजनिक गर्नेछ।
कम्पनीले उक्त स्कुटरको नाम र विशेषताहरूबारे भने हालसम्म सार्वजनिक गरेको छैन। तर यसले भारतीय बजारमा उपलब्ध टिभिएसको आईक्युब र बजाज चेतकसँग प्रतिस्पर्धा गर्ने बताइएको छ।
हालसम्मको जानकारी अनुसार होन्डाको विद्युतीय स्कुटरको बाहिरी अवतार होन्डा एक्टिभा जस्तै हुनेछ। बजार प्रतिस्पर्धा बढिरहेको समय होन्डा पनि एक बलियो प्रतिस्पर्धीको रूपमा खडा हुने देखिन्छ।
होन्डाले केही साता अघि इटालीमा भएको इआइसिएमए अटो एक्स्पोमा विद्युतीय स्कुटर 'होन्डा ईएम१' सार्वजनिक गरेको थियो। यसमा ब्याट्री स्वाप (परिर्वतन) गर्न मिल्ने प्रविधि देखाइएको थियो। यसले एक पटकको पुरा चार्जमा ६० किलोमिटरसम्मको माइलेज दिने समेत बताइएको थियो। साथै यसको टप स्पीड भने ५० किलोमिटर प्रतिघन्टा रहेको छ।
होन्डा ईएम१ युरोपियन बजार लक्षित गरी उत्पादन गरिएको हो। तर यसलाई छिट्टै एशियाली बजारमा समेत सार्वजनिक गर्ने होन्डाले जनाएको छ। यो स्कुटर सन् २०२३ को अन्त्यतिर एशियाली बजारमा सार्वजनिक हुने अनुमान छ।