भारतीय बजारमा एमजीको नयाँ विद्युतीय गाडी (इभी) सार्वजनिक हुँदैछ। बेलायती ब्रान्ड एमजी (मोरिस ग्यारेज)ले सन् २०२३ को पहिलो त्रैमासमा एयर इभी सार्वजनिक गर्ने भएको हो। यो गाडी सस्तो मूल्यमा बजारमा उपलब्ध हुने अनुमान छ।
नयाँ एमजी एयर इभी भारतकै सबैभन्दा सानो चार पांग्रे गाडी हुनेछ। यसको लम्बाई जम्मा २.९ मिटर छ। त्यस्तै यसको ह्विलबेस जम्मा २०१० एमएम छ। सानो भएपनि गाडी चिटिक्क र बोल्ड देखिन्छ।
भारतीय अटो वेबसाइट गाडीवालाका अनुसार एमजी एयर इभीमा सम्भवत ५० किलोवाटको मोटर जडान गरिएको हुनेछ। त्यस्तै यसमा २० देखि २५ किलोवाटको ब्याट्री प्याक दिने बताइएको छ।
एमजी एयर इभीले एक पटकको पूरा चार्जमा दुई सयदेखि तीन सय किलोमिटरसम्मको माइलेज दिने बताइएको छ। गाडीमा १०.२५ इन्चको डुअल-स्क्रिन इन्फोटेनमेन्ट प्रविधि छ।
यसले भ्वाइस कन्ट्रोल, एप्पल कारप्ले र एनड्रोइड अटो पनि समर्थन गर्छ।त्यस्तै गाडीमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, पुस बटन स्टार्ट, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल लगायत विशेषताहरू पनि पाउन सकिन्छ।
हालसम्म सार्वजनिक विशेषताहरूका आधारमा कम्पनीले नयाँ एमजी एयर इभीको भारतीय बजार मूल्य ८ लाख ४९ हजार रूपैयाँ तोक्ने अनुमान छ। कम्पनीका अनुसार नयाँ एमजी एयर इभीले बजारमा उपलब्ध टाटा टियागो इभीसँग प्रतिस्पर्धा गर्नेछ।