नेपाली बजारमा भारतीय विद्युतीय स्कुटर निर्माता कम्पनी फ्राङ्कलिन इभीका उत्पादनहरू भित्रिने भएको छ। कम्पनीले भृकुटीमण्डपमा आयोजित 'इभी एक्स्पो नेपाल २०२२' मा आफ्नो उत्पादनहरू प्रदर्शन गर्दै यसबारे जानकारी दिएको हो।
एक्स्पोमा कम्पनीले कोरो, निक्स डिएलएक्स र पावर प्लस गरी तीन वटा मोडल प्रदर्शनीमा राखेको थियो। कम्पनीले यिनै स्कुटर बजारमा सार्वजनिक गर्ने भएको हो। तर यतिबेला कम्पनी राम्रो डिलरको खोजिमा छ। डिलर पक्का हुने बित्तिकै अबको दुई महिनाभित्र स्कुटर सार्वजनिक हुने कम्पनीका एक अधिकारीले बताए।
कोरो, निक्स डिएलएक्स र पावर प्लस तीनवटै स्कुटरमा जडित ब्याट्रीमा ३ वर्ष र मोटरमा दुई वर्षको वारेन्टी दिइनेछ। हाल भारतीय बजारमा रुचाइएको फ्राङ्कलिन इभीका मोडलहरू नै नेपाली बजारमा पनि भित्र्याउन लागिएको हो। तर नेपाली बजारको लागि बढी किलोवाटको ब्याट्री क्षमताका स्कुटर भित्र्याइने छ।
यी स्कुटरहरूमा जडित ब्याट्री पूरा चार्ज हुन जम्मा ४ देखि ५ घण्टा लाग्छ। कोना डुअल ब्याट्रीमा उपलब्ध हुनेछ। यसले एक पटकको पूरा चार्जमा दुई सय किलोमिटरसम्मको माइलेज दिन्छ। नेपाली बजारमा यो स्कुटरको मूल्य तीन लाखसम्म हुने कम्पनीको भनाई छ।
त्यस्तै कम्पनीका अनुसार निक्स डिएलएक्सको नेपाली बजार मूल्य दुई लाख ७० हजार र पावर प्लसको मूल्य दुई लाख ६० हजार रूपैयाँ तोकिनेछ। यी दुवै मोडलका स्कुटरमा जडित ब्याट्री प्याकले एक पटकको पूरा चार्जमा एक सय किलोमिटरसम्मको माइलेज दिनेछ।
यीबाहेक फ्राङ्कलिन इभीले अन्य मोडल पनि नेपाली बजारमा भित्र्याउने तयारी गरिरहेको छ।