भारतीय विद्युतीय सवारी साधन उत्पादन कम्पनी सिमा ई-भेहिकल एन्ड सोलार प्रा.लिले नेपाली बजारमा आफ्नो विद्युतीय स्कुटर सार्वजनिक गर्ने भएको छ। कम्पनीका एक अधिकारीले यही साताभित्र आफ्नो उत्पादन नेपाली बजारमा उपलब्ध गराउने जनाएको हो।
हालै भृकुटीमण्डपमा आयोजित 'इभी एक्स्पो नेपाल २०२२' मा कम्पनीले आफ्नो उत्पादनहरू प्रदर्शन गरेको थियो। एक्स्पोमा सिमा ई-भेहिकलको इगल, इगल प्लस, टफ्फ प्लस र ग्राइफन गरी चार वटा मोडल प्रदर्शनीमा राखिएको थियो।
यी सबै मोडलमा जडित ब्याट्रीमा कम्पनीले तीन वर्षको वारेन्टी दिनेछ। इगलमा २५० वाटको मोटर र ४८ भी २५ एएच लिथियम आयन ब्याट्री जडित छ। यसले एक पटकको पूरा चार्जमा ६५ किलोमिटरको माइलेज दिन्छ। यसको डुअल ब्याट्री विकल्पले भने १६५ किलोमिटरको माइलेज दिने बताइएको छ।
इगल प्लसमा ४८ भी ६५ एएचको ब्याट्री र १२०० वाटको मोटर जडित छ। यसले प्रति चार्ज १२० किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ। त्यस्तै टफ्फ प्लसमा ६० भी ६४ एएचको ब्याट्री प्याक र १५०० वाटको मोटर जडित छ। यसले एक पटकको पूरा चार्जमा १३० किलोमिटरको माइलेज दिन्छ।
ग्राइफनमा भने ६२.९ भी ६५ एएच ब्याट्री प्याक र १५०० वाटको मोटर दिइएको छ, जसले एक पटकको पूरा चार्जमा १३० किलोमिटरको माइलेज दिन्छ।
यी सबै मोडलमा आइपी ६७ वाटरप्रुफ ब्याट्री दिइएको छ। यी मोडलहरू विभिन्न रंग विकल्पमा उपलब्ध हुनेछ।
कम्पनीले इगलको नेपाली बजार मूल्य दुई लाख रूपैयाँ तोक्ने बताएको छ। त्यसैगरी इगल प्लस, टफ्फ प्लस र ग्राइफनको बजार मूल्य भने तीन लाख २५ हजार रूपैयाँ हुनेछ।