चिनियाँ विद्युतीय चार पांग्रे सवारी साधन निर्माता कम्पनी हेन्री अटोमोबाइलको उत्पादन ‘मिनकार’ नेपाली बजारमा उपलब्ध भएको धेरै भएको छैन। पायोनिर वर्ल्डवाइडले गत वैशाखदेखि मात्रै मिनकार नेपाली बजारमा भित्र्याएको हो। नेपाली बजारको लागि हेन्रीको उत्पादनको आधिकारिक वितरक पायोनिर वर्ल्डवाइड हो।
हेर्दै सानो र चिटिक्कको मिनकारले छोटो समयमै राम्रो बजार पाएको कम्पनीको भनाइ छ। मिनकारको लम्बाई जम्मा ३,३८० एमएम, चौढाई १,४९९ एमएम र उचाई १,६१० एमएम छ। गाडीमा १३ इन्चको ट्युबलेस टायर दिइएको छ भने ह्विलबेस २,४४० एमएम छ। यो शहरी भू-भागको लागि निकै रुचाइएको गाडीमध्ये पर्छ।
मिनकारमा १६.५ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्याक र १८ किलोवाटको पिएमएसएम मोटर जडित छ। जसले अधिकतम ३५ किलोवाट पावर र १०२ एनएम टर्क जेनेरेट गर्छ। कम्पनीले यसको ब्याट्री प्याकमा ५ वर्ष र मोटरमा ३ वर्षको वारेन्टी दिएको छ।
गाडीमा भएको ब्याट्री पूरा चार्ज हुन जम्मा ४ देखि ५ घण्टा लाग्ने कम्पनीको भनाई छ। एक पटकको पूरा चार्जमा भने यसले १५० देखि १७५ किलोमिटरको माइलेज दिन्छ। यसमा १० इन्चको एलसिडी दिइएको छ।
मिनकारमा सुरक्षाको लागि एबिएस, इबिडी, हिल होल्ड, रिभर्स पार्किङ सेन्सर, र रिमोट सेन्ट्रल लक जस्ता विशेषता पाउन सकिन्छ। त्यसैगरी अगाडीको टायरमा डिस्क र पछाडि टायरमा ड्रम ब्रेक पाउन सकिन्छ।
गाडीको ग्राउन्ड क्लेरेन्स जम्मा १६५ एमएम छ भने कुल तौल ८०० केजीको छ। गाडीको टप स्पीड १०० किलोमिटर प्रति घण्टाको छ। यसमा चालकले १५० लिटरको डिकी क्षमता पाउन सक्छन्।
आन्तरिक विशेषताहरूसँगै मिनकारको बाहिरी आवरण पनि राम्रो छ। नेपाली बजारमा मिनकार रातो, निलो, सेतो, कालो, ग्रे, ब्राउन र हरियो गरी सात विभिन्न रंगमा उपलब्ध छ। कम्पनीले हेन्री मिनकारको सुरुआती बजार मूल्य २३ लाख ५० हजार तोकेको छ।